माधव नेपाल फकाउने प्रधानमन्त्री ओलीको दोश्रो प्रयास पनि असफल

सफल खबर संवाददाता

बुधबार, १२ कार्तिक २०७७, ११ : २३
माधव नेपाल फकाउने प्रधानमन्त्री ओलीको दोश्रो प्रयास पनि असफल

फाइल फोटो

काठमाडौं ।  दशैंको रमझममा आफ्नै निवासमा परिवारसँग रमाइरहेका नेकपाका वरिष्ठ नेता माधव नेपाललाई हिजो मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीले फोन गरे । ‘कमरेड ! आज तपाईसँग केही छलफल गरौं की भन्ने लागेको छ । अहिले १२ बजे यसो बालुवाटार आउनुहुन्छ कि ?’ ओलीले नेपाललाई भने । आफ्नै निवास कोटेश्वरमा बसिरहेका नेपालले पनि ‘ठिकै छ आउँला नि त’ भन्ने जवाफ टेलिफोनमै दिए । त्यसपछि उनी मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास वालुवाटार पुगे ।

कहिले महिनौं छलफलका लागि नवोलाउने प्रधानमन्त्री ओलीले अहिले भने यही कात्तिकमा मात्रै नेपाललाई दोश्रो पटक बालुवाटार वोलाएर छलफल गरेका थिए । गत कात्तिक ४ मा पनि उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग कर्णालीको आन्तरिक विवाद समाधानमा सहमति जुट्न नसकेपछि र बढ्दो तिक्ततापछि नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

त्यसपछि पुनः ओलीले नेपाललाई एक सातामै फेरि बालुवाटार बोलाएर छलफल गरेका हुन् । ओली यतिबेला फेरि पार्टीको आन्तरिक विवादमा अप्ठ्यारोमा परेका छन् । पटकपटक पार्टी नेताहरुसँग कुनै समन्वय र परामर्शविनै स्वेच्छाचारी ढंगबाट अगाडि बढ्न खोजेका ओली आफ्नै कारणले बेलाबेला अप्ठ्यारोमा पर्दै आएका छन् । एउटा विवाद टालटुल पार्न नेताहरुलाई विभिन्न आश्वासन र प्रलोभन दिने र संकट टार्ने गरेका ओलीका सामु अहिले फेरि नयाँ संकट देखा परेको छ ।

गत भदौ २६ मा ७९ दिनको आन्तरिक विवाद हल गरेको नेकपामा फेरि ओलीले दश दिन नबित्दै स्थायी समितिको निर्णय कार्यान्वयनमा उदासिनता देखाउने, बरु झन् एकलौटी ढंगले अगाडि बढ्ने गर्न थालेपछि विवाद नयाँ रुपमा फेरि पुनरावृत्ति हुन पुगेको छ ।

यो विवादले प्रधानमन्त्री ओलीको सत्तामा फेरि तुवाँलो लाग्न थालेको छ । ओलीले सहमतिका साथ राजनीतिक नियुक्तिहरु गर्ने स्थायी समितिको म्यान्डेट विपरीत युवराज खतिवडालाई अमेरिका, लाकेदर्शन रेग्मीलाई वेलायतको राजदुत मात्रै बनाएनन्, मुख्यसचिवमा सेटिङमै शंकरदास वैरागीलाई ल्याउनेसम्मका काम गरे । यसमा उनले पार्टीका कुनै नेतासँग परामर्श गर्न आवश्यक नै ठानेनन् ।

स्थायी समितिले नै निर्णय गरेको केन्द्रदेखि प्रदेशसम्मको सरकार पुनर्गठन गर्नुपर्ने विषयलाई पनि उनले बेवास्ता गरेर अगाडि बढे । समग्र मन्त्रिमण्डल पुनर्गठनको सन्देश दिनुको साटो उनले पार्टी नेताहरुलाई बेवास्ताा गर्दै एकलौटी ढंगले रिक्त रहेका तीन ओटा मन्त्रालयमा मात्र आफूनिकट पार्टी महासचिव विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई मन्त्री बनाउने काम गरे ।

त्यत्तिमात्रै होइन, कर्णालीमा आफूनिकट नेता यमलाल कँडेललाई धाप दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन मात्र लगाएनन्, त्यहाँको आन्तरिक राजनीतिमा केन्द्रबाट हस्तक्षेप गर्ने गरी एकलौटी मुख्यमन्त्रीलाई यसो गर्नु, उसो गर्नु भन्दै निर्देशन समेत दिने काम गरे ।

पर्सामा पूर्वमाओवादी धारका पार्टी जिल्ला सदस्यलाई आफ्नो गुटका मान्छे परिचालन गरेर हत्या गराउने र हत्यारालाई कारवाहीको माग गर्दै निवेदन बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका परिवारका सदस्यको जाहेरी समेत लिन नदिई आफ्ना मान्छे जोगाउनेसम्मका प्रयत्न प्रधानमन्त्री ओलीले गरे ।

भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयललाई आफ्नै निम्तोमा बोलाएर समकक्षी झैँ बालुवाटारमै रहस्यमय भेटवार्ता गर्नेसम्मका काममा ओली लागे । यसले ओलीको पार्टीभित्र र बाहिर समेत चर्काे आलोचना भइरहेको छ । 

कोभिड १९ को महामारीसँग जुधिरहेका जनताको निःशुल्क परीक्षण, उपचारको ब्यवस्थाबाट चटक्कै हात झिकेर सरकार गैह्रजिम्मेवार बन्ने काम समेत यही बीचमा भए । यसले सरकार मात्रै होइन, सत्तासीन नेकपालाई समेत अप्ठ्यारोमा पार्ने काम प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको तालाचाबी हातमा लिएर गरे ।

यस्तैयस्तै कारणले गर्दा प्रधानमन्त्री ओलीका विपक्षमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु दशैं लगत्तै पार्टी वैठक बोलाएर ओलीको झाँको झार्ने रणनीतिमा जुटेका थिए ।

यही बुझेर ओलीले आफ्नो अप्ठ्यारो टार्ने मेसोमा अहिले वरिष्ठ नेता माधव नेपाल फकाउने रणनीति अख्तियार गर्न थालेका छन् । त्यही क्रममा उनले साता दिनको बीचमा वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार वोलाएर दुई पटक छलफल गरेका हुन् ।

उनले हिजो मंगलबार पनि नेपाललाई बोलाएर मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म भेटवार्ता गरेका थिए । प्रचण्डसँग दुरी बढ्दा नेपाल र नेपालसँग दुरी बढ्दा प्रचण्डसँग हिमचिम बढाउन खोजेर उनले प्रचण्ड र नेपाललाई मिल्नबाट रोक्ने रणनीति यस अगाडिदेखि नै अख्तियार गर्दै आएका छन् । दुवै नेतासँगको भेटमा अर्काे नेताको बदख्वाईं गरेर उचाल्ने र पछार्ने रणनीतिमा ओली लागेका थिए । तर पछिल्लो पटक ओलीको यो राणनीति सफल हुन नसकेपछि बालुवाटारमा छट्पटी बढेको नेकपाका एक नेताले बताए । त्यही क्रममा उनले अहिले वरिष्ठ नेता माधव नेपाललाई फकाउने अनके प्रयास गर्न थालेको ती नेताले सफल खबरलाई बताए ।

नेपाललाई फकाउने ओलीको सात दिनभित्रकै यो दोश्रो प्रयास पनि सफल हुन नसकेको ती नेताको भनाई छ । ओलीले यस अगाडि नेता नेपालसँग पार्टीको बैठकमा बाहेक त्यसरी छलफल प्रायः हुने गरेका थिएनन् ।  ओलीले वोलाउँदा मात्र नेपाल बालुवाटार पुगेर छलफल हुने गरे पनि नेता नेपाल स्वयं छलफलका लागि भनेर ओलीकहाँ धाएका थिएनन् । 

गत साउन ९ मा ओलीकै निम्तोमा भेटका लागि बालुवाटार पुगेका नेपाल कात्तिक ४ र कात्तिक ११ मा मात्र बालुवाटारमा ओलीसँग एक्लाएक्लै छलफलका लागि पुगेका थिए । स्थायी कमिटिको निर्णय कार्यान्वयनमा जटिलता देखिइरहेका बेला नेपाललाई फकाएर ओलीले प्रचण्डलाई साइजमा ल्याउने रणनीति अख्तियार गर्न खोजेका छन् । उनले पूर्व माओवादी धारका केही स्थायी समिति सदस्यलाई फकाएर प्रचण्डलाई कमजोर बनाउने रणनीति पनि अख्तियार गर्दै आइरहेका छन् ।

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने र पार्टीको सल्लाह र सहमतिमा सरकार र पार्टीका काम दुई अध्यक्षले आ आफनो मोर्चा सम्हालेर गर्ने पार्टी बैठकको निर्णय भए पनि ओलीको एकलौटीका कारण पार्टी काम पनि अवरुद्ध हुन पुगेको छ भने जनताका नजरमा सरकार एकपछि अर्काे गरी वदनाम हुँदै जान थालेको छ । तर प्रधानमन्त्री ओलीलाई यो कुनै कुराको वास्ता देखिएको छैन ।

उनले मंगलबार वरिष्ठ नेता नेपालसँग पूर्वएमाले समूहका नेताहरु मिल्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । उनले अबको महाधिवेशनमा आफूले अध्यक्षमा नेपाललाई सहयोग गर्ने प्रस्ताव हिजोको छलफलका क्रममा राखेको नेपाल निकट स्रोत बताउँछ । कात्तिक ४ मा उनले मिलेर जाने प्रस्ताव नेपालसामु राखेका थिए ।

त्यसबेला नेपालले मिलेर जाने मात्र भनेर नहुने भन्दै मिलेर जाने ठोस प्रस्ताव ल्याउन ओलीसँग आग्रह गरेका थिए । विधि, पद्धति सबै आफै भत्काउँदै हिँड्ने र मिलेर जाने भनेर मात्र नहुने भन्दै ओलीसँगको सम्वाद सकारात्मक बन्न नसकेका बेला ओलीले नेपाललाई हिजो बालुवाटार बोलाएर अब पार्टी अध्यक्षमा आफूले सहयोग गर्ने भन्दै प्रस्ताव राखेको नेपाल निकट नेताको भनाई छ । तर नेपालले ओलीको प्रस्ताव छलछाम र तिकडमबाजीका रुपमा मात्र आएकोले पत्याएर अगाडि जान नसक्ने भन्दै ओलीको कार्यशैली सुधार अब हुन नसक्ने जनाएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल फकाउन गरेको यो प्रयासमा पनि नेपालले विश्वास गर्न नसकिने र अब ओली सच्चिन नसक्ने निष्कर्षमा आफू पुगिसकेको भन्दै बालुवाटारबाट बाहिरिएका थिए । माधव नेपाल फकाउने र आफ्नो संकट टार्ने ओलीको यो दोश्रो प्रयास पनि असफल हुन पुगेको अहिले नेकपाभित्र चर्चा चलिरहेको छ । 

अब केही दिनमै अध्यक्ष प्रचण्डले पार्टी सचिवालय बैठक बोलाउने विषयमा नेताहरुसँग आन्तरिक परामर्श गर्न थालेको स्रोतले बताएको छ । अबको पार्टी बैठकमा फेरि पनि ओलीको कार्यशैली नै प्रमुख एजेण्डा बनेर विवाद झन् झांगिने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस