कर्णालीमा ओली समूहलाई क्षति : भुइँको टिप्न खोज्दा भाँडाकै पोखियो

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १५ : १८
कर्णालीमा ओली समूहलाई क्षति : भुइँको टिप्न खोज्दा भाँडाकै पोखियो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै कर्णालीमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई क्षति पुगेको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एकै ठाउँमा उभिएपछि कर्णाली प्रदेश सरकारमा ओली समूह माइनसमा गएको छ । 

प्रमुख सचेतक बनाएका सीता नेपालीले शुक्रबार बिहान ११ बजे डाकेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा प्रचण्ड समूहका ११ जना र नेपाल समूहका ८ जना गरी १९ जना सांसद उभिए । मुख्यमन्त्री शाहीलाई फ्याक्ने ओली समूहको योजना तुहियो । 

अविश्वासको प्रस्ताव दर्ता गर्ने ओली पक्षका ११ जना भने बैठकमा सहभागी भएनन् । प्रचण्ड समूह र नेपाल समूह एकै ठाउँमा उभिएपछि अन्ततः ओली समूह कमजोर भएर पछि हट्न बाध्य भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएकै कारण कर्णालीमा ओली समूहले क्षति व्यहोर्न परेको छ । 

यसअघि कर्णाली प्रदेश सरकारको मुख्य सचेतक ओली समूहकै गुलाबजङ्‍ग शाह थिए । मुख्यमन्त्री शाहीको जोडबलमा ओली समूहका मुख्य सचेतक रहेका गुलाबजङ्‍ग शाहको पद खोसिएको छ । आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि प्रचण्ड समूहमा रहेका शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग कुम जोडेर मुख्य सचेतक शाहको पद नै खाइदिए । उनको ठाउँमा सीता नेपालीलाई मुख्य सचेतक बनाए । 

अविश्वासको प्रस्ताव दर्ता गरेर मुख्य मन्त्री हटाउने योजनामा रहेका ओली समूहले मुख्य सचेतक समेत गुमाएको छ । मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्रीकै रोहबरमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । राजनीतिक प्रतिशोध लिएर मुख्यमन्त्री शाहीले माधवकुमार समूहसँग कुम जोडेर  मुख्य सचेतक गुलाबजङ्‍ग शाहलाई पदबाट हटाइदिएका हुन् । 

कर्णाली प्रदेशमा सरकार बन्दादेखि नै ओली समूह विपक्षमा थियो । प्र्रचण्ड समूहका मुख्यमन्त्री शाहीले एकलौटी गरेको भन्दै तीनपटक अविश्वासको प्रस्ताव ल्याउने तयारी ओली समूहले गरेको थियो । माधवकुमार नेपाल समूहले साथ नदिएपछि कर्णालीमा ओली समूह कर्नरमा पुगेको छ । 

नेपाल समूहसँग यसरी भयो काँधमा काँध

मुख्यमन्त्री शाहीले झन्डैले बहमद गुमाइसकेका थिए । नेपाल समूहको साथ नमिलेको भए शाहीको मुख्यमन्त्री पद नै गुम्थ्यो । बहुमत गुमाइसकेका शाहीले जोखिमपूर्ण कदम उठाएर मुख्य सचेतकलाई हटाएका हुन् । शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाल समूहका ७ जना र पूर्वमाओवादी केन्द्रका ठम्मरबहादुर विष्ट आफ्नो पक्षमा ल्याउन सफल भए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाल समूहका नेताहरुलाई विभिन्न पद दिएर शाहीले आफ्नो पक्षमा ल्याए । जसका कारण ओली समूह ‘माइनस’मा परेको छ । 

योसँगै पार्टीको प्रदेश सहइन्चार्ज रहेका ओली समूहका यमलाल कँडेललाई राजनीतिक क्षति पुगेको छ । ओली समूहले कर्णाली प्रदेशको संसदीय दलको महत्त्वपूर्ण पद गुमाउन पुगेको छ । पद पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावमा अडिइरहन सकेन ।

अन्ततः ओली समूहलाई धोका दिँदै प्रचण्ड समूहका मुख्यमन्त्री शाहीसँग कुम जोड्न पुगे । मुख्यमन्त्री शाहीसँग तीनवटा मन्त्री र एउटा सचेतक बार्गेनिङ गरेर नेपाल समूह अविश्वासको प्रस्तावबाट फिर्ता भयो । 

प्रतिक्रिया दिनुहोस