कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै

रासस

आइतबार, १८ माघ २०८२, १० : ४९
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु हुँदै छ। गत साउन २१ गते छैटौँ अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले यो अधिवेशन आह्वान गरेका हुन्।

आज दिउँसो १ बजे बस्ने पहिलो बैठक मुख्य रूपमा नयाँ कानुन निर्माणमा केन्द्रित रहने प्रदेशसभा सचिवालयले जनाएको छ।

यस पटकको अधिवेशन नियमित प्रदेशसभा भवनमा नभई वैकल्पिक स्थानमा सञ्चालन गरिँदै छ। गत भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय र संसद् भवनमा व्यापक तोडफोड तथा आगजनी भएको थियो।

आन्दोलनकारीको भौतिक आक्रमणबाट भवनका फर्निचर, कम्प्युटर, इलेक्ट्रोनिक्स सामग्री र सवारीसाधनमा गरी करिब ३ करोड ९४ लाख १६ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदन सार्वजनिक भएको छ।

मुख्य संसद् भवन अझै पुनर्निर्माणको चरणमा रहेकाले हाललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्ने व्यवस्था मिलाइएको छ।

उक्त हलमा सभामुख, उपसभामुख, सत्तापक्ष, प्रतिपक्ष र सांसदहरूका लागि आवश्यक रोष्टम, साउन्ड सिस्टम र बसाइ व्यवस्थापनका कामहरू सम्पन्न गरी ‘कामचलाउ’ संसद कक्ष तयार पारिएको छ।