कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा चन्द नियुक्त

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०८२, १० : १८
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा चन्द नियुक्त

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा वीरेन्द्रनगर–७, सुर्खेतका रवीन्द्र चन्द नियुक्त भएका छन् । 

कर्णाली प्रदेश सरकारको बिहीबार (चैत १२) बिहान बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई नियुक्ति गरेको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । 

प्रवक्ता शाहका अनुसार, मन्त्रिपरिषद् बैठकले परिषद्को उपाध्यक्ष तथा सदस्यहरू समेत नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उपाध्यक्षमा वीरेन्द्रनगर–५, सुर्खेतका प्रमोद हमाल नियुक्त भएका छन् । हमाल यसअघि पनि परिषद्को उपाध्यक्ष भइसकेका थिए । यो पटकको सदस्य सचिवको लागि हमालको समेत दाबी रहेको थियो । 

यसैगरी परिषद्को सदस्यहरूमा पंखबहादुर मल्ल (खाँडाचक्र–७, कालीकोट), भीमकुमारी भुसाल (वीरेन्द्रनगर–३, सुर्खेत), गोर्खबहादुर शाही (चंखेली–४, हुम्ला), पवनकुमार थापा (दुल्लु–८, दैलेख) र किरणकिशोर सापकोटा (वीरेन्द्रनगर–४, सुर्खेत)लाई मन्त्रिपरिषद् बैठकले नियुक्ति गरेको छ । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद् २०८१ पुस ६ बाट पदाधिकारीविहीन रहेको थियो । परिषद्को सदस्यसचिवको निम्ति तीनजनाको नाम सिफारिस भएको थियो । सामाजिक विकास मन्त्रालयका सचिव ढोलकराज ढकालको संयोजकत्वमा बनेको सिफारिस समितिले माघ ३ मा तीनजनाको नाम मन्त्रालयको तर्फबाट सिफारिस गरेको थियो । 

सिफारिस सूचीअनुसार वीरेन्द्रनगर–७, सुर्खेतका चन्द्र, भेरीगंगा–४, सुर्खेतका दिपक हमाल र वीरेन्द्रनगर–५, सुर्खेतका प्रमोद हमाल सिफारिस भएका थिए ।