पाँच लाख मेट्रिक टन मल ल्याउन भगवान शिवले पनि सक्दैनन्, मेरो के कुरा ? : कृषिमन्त्री भुसाल

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १५ : ३८
पाँच लाख मेट्रिक टन मल ल्याउन भगवान शिवले पनि सक्दैनन्, मेरो के कुरा ? : कृषिमन्त्री भुसाल

फाइल फोटो

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् ।

४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिक टन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । उनले तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन भगवान शिव वा ब्रम्हा आएपनि नसक्ने टिप्पणी गरे । 

कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए । उनले भने, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भनेपनि सक्दैनन् । कलकत्ताकै पोष्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको उनले बताए । कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको उनको भनाइ थियो । 

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकारे । किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको उनको भनाई छ । कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहलाई मन्त्री भुसालले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस