कुनकुन मन्त्रालय फुट्दैछ ? नयाँ मन्त्रीमा कोको जाँदैछन् ?

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, १५ : १०
कुनकुन मन्त्रालय फुट्दैछ ? नयाँ मन्त्रीमा कोको जाँदैछन् ?

काठमाडौँ । सरकारले तीन वटा मन्त्रालय फुटाउने लगभग पक्का गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री थप्न तीनवटा मन्त्रालय फुटाउने अन्तिम तयारी गरेका छन् । एक\दुई दिनमै मन्त्रालय प्वाट्ट फुट्ने सङ्केत देखिइसकेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुट्न लागेको स्रोतको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर उद्योग, वाणिज्य र आपूर्ति गरी दुई मन्त्रालय बनाइनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय फुटाएर ऊर्जा र सिँचाइ मन्त्रालय बनाइनेछ। त्यस्तै, भौतिक पूर्वाधार र यातायात गरी दुइटा अलग मन्त्रालय बनाउन यतिबेला सरकार लागिरहेको छ । 

यी मन्त्रालय विगतमा अलगअलग नै थिए। सार्वजनिक खर्च नयाँ मन्त्रीलाई मन्त्रालयको भाग पुर्‍याउन मन्त्रालय फुटाउन लागिएको हो । विगतमा प्रशासनिकलगायतका खर्च जोगाउन यी मन्त्रालय जोडिएको थियो, अहिले फेरि केहीलाई मन्त्री बनाउन ओली सरकार मन्त्रालय फुटाउन लागेको हो ।

अहिले २१ मन्त्रालय छन्। यसलाई टुक्र्याएर २४ मन्त्रालय पुर्‍याउनेबारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । दुई अध्यक्षबीच मन्त्रिपरिषद हेरफेर गर्ने पनि अन्तिम तयारी भइरहेको छ । 

संविधानअनुसार प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिपरिषद बनाउन मिल्दैन। तर, राज्यमन्त्री नराखी २४ वटा मन्त्रालय बनाउन मिल्ने भएकाले यसबारे छलफल भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार केही मन्त्री पुरानै रहने छन् भने धेरै नयाँमन्त्री आउने छन् । स्रोतका अनुसार केही मन्त्री पुरानै रहनेछन् भने धेरै मन्त्री नयाँ आउनेछन् । 

अहिले अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय खाली छन्। अर्थ र सञ्चार प्रधानमन्त्रीले आफैं हेर्छन्। सहरी विकासको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सम्हालेका छन्। स्वास्थ्य, सहरी विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्यमन्त्री छन्।

मन्त्रिपरिषद पुनर्गठन दसैंअघि गर्ने कि पछि भन्ने निर्णय प्रधानमन्त्रीले गरिसकेका छैनन्। प्रधानमन्त्रीनिकट एक मन्त्रीले भने मन्त्रिपरिषद पुनर्गठनका लागि धेरै समय नलाग्ने दाबी गरे। ‘हामीमध्ये को रहन्छौं, को रहन्नौं, त्यो ठूलो कुरा होइन। प्रधानमन्त्रीले आवश्यक नेताहरूसँग परामर्श गरेर निर्णय लिनुहुन्छ, ती मन्त्रीले भने, ‘मन्त्रीहरूको कार्यक्षमताका आधारमा उनीहरू फेरिन्छन्। सांसदहरूको भूमिका र योगदानका आधारमा नयाँ मन्त्री बन्छन् ।’

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी केन्द्र समूहबाट र ओलीले साविक एमाले घटकबाट नयाँ मन्त्रीको अनुहार पनि खोजी सकेका छन् । मापदण्डमा भने दुई अध्यक्षले गृहकार्य गरिरहेको छन् । पूर्वएमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडाको नाम चर्चामा छ ।

पूर्वमाओवादी केन्द्रबाट, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाललगायतको नाम चर्चामा छ । तर चर्चामा आएका नामहरु नै मन्त्री बन्छन् भन्ने पक्का भइसकेको छैन । प्रधानमन्त्री निकट एक सांसदले भने, ‘प्रधानमन्त्री ओली मन्त्री छनौटमा धेरै विर्मश गर्नुभएको छ, उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुहुनेछ ।’