काठमाडौं । टिओबी अर्थात् तिबेटन ओरिजिनल ब्लड लेखिएको कालो ज्याकेट लगाएर जेन– जी विद्रोहका बेला भदौं २३ र २४ को प्रर्दशनमा उत्रिएका तेन्जिन दावा लामाको नागरिकता नक्कली ठहर भएको छ ।
प्रहरी अनुसन्धानका क्रममा उनले प्रयोग गर्दै आएको नागरिकता नक्कली ठहर भएको अनुसन्धानमा संग्लन्न एक प्रहरी अधिकारीले जानकारी दिए । उनी अहिले प्रहरी हिरासतमा छन् ।
उनलाई नागरिकता बनाउन जन्मदर्ताको सिफारिस गरिएको भनिएको वडा कार्यालयको पत्र नै नक्कली देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ । लामाले नागरिकता बनाउने बेला काठमाडौं महानगरपालिका वडा नम्बर ६ को सिफारिस पत्र पेश गरेका थिए । उनले जेनजी विद्रोहपछि आफु आधा नेपाली र आधा तिब्बेतियन भएको बताएको र आन्दोलनमा उत्रिदाँ ‘मलाई मेरो देश फिर्ता ले’ भन्ने चर्को नारा लगाउँदै टिओबी अर्थात् तिबेटन ओरिजिनल ब्लड लेखिएको कालो ज्याकेट लगाएर सडकमा उत्रिएका थिए ।
त्यसपछि प्रहरीले आन्दोलनमा आएका विभिन्न समुहमाथी छानबिन गर्ने क्रममा उनी प्रक्राउ परेका थिए । पक्राउ परेपछि उनको जन्मदर्ता सिफारिस गरिएको मिति शनिबार देखिएको र एउटै प्रमाणपत्रमा ‘नेपाल सरकार’ र ‘श्री ५ को सरकार’ भनेर दुईवटा सरकारी छाप लगाएको फेला परेपछि उनी थप अनुसनधानमा तानिएका थिए ।
उनको सार्वजनिक भएको जन्मदर्ता प्रमाणपत्रमा २०६३ साल फागुन १० गते काठमाडौं महानगरपालिकाको ६ नम्बर वडा कार्यालयबाट दर्ता भएको देखिन्छ । तर सो मिति शनिबार परेको कारण सरकारी कार्यालयहरू बन्द रहने दिनमा दर्ता कसरी भयो भन्ने गम्भीर प्रश्न उठेको थियो । त्यसपछि प्रहरीले थप अनुसनधान गरेको थियो । त्यही क्रममा काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयले प्रहरीलाई दिएको जवाफमा उनलाई महानगरपालिकाले त्यस्तो सिफारिस पत्र नै नदिएको उल्लेख रहेको प्रहरी अनुसन्धानमा संग्लन्न एक अधिकारीले सफलखबरलाई बताए ।
तेन्जिङ्गलाई नागरिकता दिलाउन टेकिएको आधार नै गलत ठहरिएपछि प्रहरी हिरासतमा रहेका तेन्जिङ्गलाई यसबारेमा प्रहरीले सोधेको छ । जवाफमा उनले आमाले के,कसरी सिफारिस बनाएर ल्याएको भन्नेबारेमा आफु जानकार नरहेको बयान दिएको ती अधिकारीले जानकारी दिए
उनले नागरिकता लिएपछि नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाइसकेका छन् । सोही राहदानी बोकेर उनी अष्ट्रेलिया जाने तयारीमा थिए । तर उनको नागरिकता बनाउँदा लिएको आधार जन्मदर्ताको सिफारिस नै नक्कली ठहरिएपछि उनको अष्ट्रेलिया जाने तयारी समेत चकनाचुर भएको छ । उनी ७ दिन यता प्रहरी हिरासतमा अनुसन्धानको क्रममा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, ०८ : ५१
लेखकबाट थप