चीनद्धारा हुम्लामा सिमा मिचिएको नमिचिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न नेपाली काँग्रेसको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०९ असोज २०७७, २० : ५३
चीनद्धारा हुम्लामा सिमा मिचिएको नमिचिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न नेपाली काँग्रेसको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले हुम्लाको नाम्खामा चीनद्वारा सीमा मिचिएको नमिचिएको बारे वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोलीको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ ।  हुम्लाको सदरमुकाम सिमिकोटबाट फर्किएको २४ घण्टा पुग्दै गर्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएको भन्दै कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरिरहँदा नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणालाई हामीले स्थलगत अध्ययन विवरणको प्रतिक्षा नगरी सार्वजनिक गरिएको हतारोको टिप्पणीका रुपमा लिएको थियौँ ।

स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्के पश्चात वास्तविकता बाहिर आउने हुँदा धैर्यताको अपेक्षा र अपिल पनि हामीले गरेका थियौँ । तर स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ ।’

एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टीकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाईले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको उनको भनाइ छ ।