काठमाडौं । नेपाल सरकारले सिन्धुपाल्चोकको भोटेकोशी नदी आसपासको सीमा क्षेत्रमा चीनले निर्माण गरिरहेको सुरक्षा पर्खाल रोक्न औपचारिक रूपमा आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षलाई लिखित पत्र पठाउँदै दुई देशबीचको सहमति बिना यस्तो निर्माण कार्य अगाडि बढाउन नमिल्ने बताएको छ ।
नेपाल–चीन अन्तर्राष्ट्रिय सीमाको स्तम्भ नम्बर ५३ नजिकै चिनियाँ पक्षले आफ्नो तर्फ सुरक्षा पर्खाल निर्माण गरिरहेको छ। उक्त पर्खालका कारण नदीको धार परिवर्तन हुन सक्ने र त्यसले नेपालतर्फ क्षति पुर्याउने सम्भावना देखिएकाले नेपालले चिनियाँ पक्षसँग चासो व्यक्त गरेको हो।
यस विषयमा करिब दुई हप्ता अघि सिन्धुपाल्चोकको कोदारीस्थित स्थानीय अध्यागमन कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो। त्यसपछि जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गरायो। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आवश्यक कूटनीतिक पहल गर्न अनुरोध गरेपछि परराष्ट्रले चिनियाँ पक्षलाई पत्र पठाएको बताइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, सीमा नजिक भइरहेको यस्तो निर्माण गतिविधि संवेदनशील विषय भएकाले समन्वय आवश्यक रहेकोले परराष्ट्रलाई कुटनीतिक पहल लिन गृहले भनेको हो ।
नेपाल सरकारको तर्क अनुसार, निर्माण स्थल अन्तर्राष्ट्रिय सीमाको अत्यन्त नजिक पर्छ। सन् १९६३ मा नेपाल र चीनबीच भएको सीमा सम्बन्धी प्रोटोकलमा सीमाक्षेत्रमा कुनै पनि संरचना निर्माण गर्नुअघि दुवै पक्षबीच जानकारी आदान–प्रदान हुनुपर्ने र सीमा नदीको धार परिवर्तन हुने खालका काम गर्न नपाइने उल्लेख छ। यही प्रोटोकललाइृ टेकेर नेपालले चिनियाँ पक्षलाई पत्र लेखेको हो ।
भोटेकोशी नदी क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिले पनि संवेदनशील मानिन्छ। विशेषगरी बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले यहाँ गरिने कुनै पनि संरचनात्मक गतिविधिले थप जोखिम निम्त्याउन सक्ने चिन्ता व्यक्त गदैं सरकारले चिनियाँ पक्षलाई सहमतिमा मात्र काम गर्न आग्रह गरेको हो ।
नेपाल चीन सीमाक्षेत्रमा पछिल्लो समय चिनियाँ पक्षले निगरानी र सुरक्षा कडाइ बढाउँदै लगेको अवस्थामा यस्तो निर्माण अघि बढाइएको देखिएको छ। हालसम्म यस विषयमा चिनियाँ पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ बैशाख २०८३, ०९ : ०५
लेखकबाट थप