चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

सफल खबर संवाददाता

शनिबार, १२ बैशाख २०८३, १९ : ५६
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् ।

चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई सुदृढ बनाउने विषयमा छलफल भएको चिनियाँ राजदूतावासले जनाएको छ । विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उपायबारे दुवै पक्षबीच विचारविमर्श भएको थियो ।

छलफलका क्रममा ऊर्जा र जलस्रोत क्षेत्रलाई द्विपक्षीय सहकार्यको प्रमुख आधारका रूपमा अघि बढाउने तथा साझा समृद्धि र जनहितका लागि सहकार्य विस्तार गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यसैगरी, भारतका राजदूतसँगको भेटमा नेपाल र भारतबीच ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार छलफलमा नेपाल–भारतबीचको दीर्घकालीन साझेदारीलाई सुदृढ गर्दै दिगो विकास, क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार तथा प्रवर्द्धन गर्ने साझा दृष्टिकोणमा जोड दिइएको छ ।

आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय ऊर्जा साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ ।