चीन तर्फका केरूङ र खासा दुवै मुख्य नाका ठप्प

पत्रपत्रिकाबाट

शनिबार, ०३ असोज २०७७, ०८ : ४६
चीन तर्फका केरूङ र खासा दुवै मुख्य नाका ठप्प

काठमाडौँ । सिन्धुपाल्चोकका व्यवसायी बलराम पराजुलीले रसुवागढीबाट भित्र्याउन खरिद गरेका तयारी पोसाक र जुत्ता चीनको केरुङ गोदाममा थन्किएको नौ महिना बितेको छ । ‘आउट अफ फेसन’ भइसकेकाले सवा करोड रुपैयाँका ती सामान सबै बजारमा बिक्ने आस पराजुलीले मारिसकेका छन् ।

रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झन्डै २ करोड रुपैयाँका चार कन्टेनर सामान ६ महिनादेखि केरुङको गोदाममा छ । हार्डवेयर, मोटर पार्ट्स, लुगाफाटालगायत सामान अड्किएका हुन् । उनले भने, ‘धेरै सामान काम नलाग्ने भइसके ।’ बलराम र नवीनजस्ता सयौं व्यवसायीका अर्बौं मूल्यका १२ सय कन्टेनर सामान केरुङमा अलपत्र छन् । चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीपारि खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना बितेको छ ।

भन्सारका एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले दुई सातादेखि रसुवागढी नाका बन्द गरेको हो । अर्को नाका तातोपानीलाई विस्फोटको जोखिममा रहेको करिब ३५ किमिमाथि चीनतर्फको ‘क्यानोन कु’ तालको पानी घटाउने भन्दै बन्द गरिएको हो । केरुङमा सामान अलपत्र पर्न थालेको गत वर्ष पुसबाटै हो । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुई पटक बन्द गरिसकेको छ । गत जेठयता करिब एक महिनामात्रै उक्त नाका सञ्चालन भएको व्यवसायीको भनाइ छ ।

तिब्बतको नेलाम काउन्टीले सीमा क्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन् । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार, भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्नै दिइएको छैन । ‘आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुको विकल्प छैन,’ उनले भने ।

नेपाललाई साह्रोगाह्रो परेकै बेला उत्तरका दुवै चिनियाँ नाका बन्द हुने गरेका छन् । भारतले २०७२ सालमा नाकाबन्दी गरेका बेला तातोपानी नाका बन्द थियो, अलि अघि आएको भूकम्पले क्षति पुर्‍याएको कारण देखाउँदै । नेपालले निकै पटक अनुरोध गरे पनि गत वर्ष जेठमा मात्र उक्त नाका खोलियो । अहिले कोभिड–१९ को महामारीले आक्रान्त भएका बेला घोषणा नै गरेर दुवै चिनियाँ नाका बन्द गरिएका छन् । व्यवसायी भन्छन्, ‘यो त अघोषित नाकाबन्दीजस्तै भयो ।’

२०७२ सालको भूकम्पपछि व्यापारीका सयौं कन्टेनर सामान तातोपानी–खासा सडकमा पाँच महिना अलपत्र परेका थिए । भूकम्पका कारण गएको पहिरोले कतिपय कन्टेनर पुरिएका थिए, कतिपय सामान छरपस्ट भएका थिए । त्यतिबेला मितेरी पुलबाट एक किमि टाढा सडक आसपास र जंगलमा जताततै छरिएको र पानीले भिजेको सामान टुलुटुलु हेरेर बस्न विवश भएको व्यवसायीहरू बताउँथे । निकै लामो प्रयासपछि मात्रै चीनले ती सामान नेपाल भित्र्याउन दियो । तर सयौं कन्टेनर सामान पानीले भिज्दा व्यवसायीले करोडौं रुपैयाँ नोक्सानी व्यहोरे । कान्तिपुर दैनिकमा खबर छ ।