चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको दासढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ । पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि, प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इ कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ-मुग्लिन सडक विसं २०३३ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । सुरुआती चरणमा यो सडक मिडियम लेनमा पाँच दशमलव पाच मिटर चौडाइमा बनेको थियो ।
राजधानी काठमाडौँ जाने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछन् । बढ्दो यातायातलाई मध्यनजर गर्दै विसं २०७०/७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी विसं २०७५ मा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिए । यससँगै सडकमा रहेका १९ वटा पुललाई पनि डबल लेनमा रूपान्तरण गरिएको छ । पछिल्लो समय विश्व बैंकको ऋण सहयोगमा सडक विस्तार र पुल निर्माणको काम गरिएको हो ।
सूचना अधिकारी आचार्यका अनुसार दासढुङ्गादेखि मुग्लिनसम्मको भू–बनोट पहिरो जाने प्रकारको भएकाले यो सडकखण्ड जोखिमयुक्त मानिन्छ । अधिकांश स्थानमा भाँचिएको ढुङ्गा ‘फ्याक्चर्ड रक’का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको छ । हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ कार्तिक २०८२, १२ : ५३
लेखकबाट थप