मध्यराति वामदेव घेराबन्दीमा, एमालेको अध्यक्ष बन्न अफर

पत्रपत्रिकाबाट

शनिबार, २० असार २०७७, १९ : ००
मध्यराति वामदेव घेराबन्दीमा, एमालेको अध्यक्ष बन्न अफर

काठमाडौं । शुक्रबार बेलुकी ९ बजेतिर नेकपा उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा उपप्रधानमन्त्री र एक हुल मुख्यमन्त्री तथा नेता पुगे । सामान्य खबर गरेर पुगेका मन्त्री तथा नेताको संख्या र शैलीले घेराबन्दीको झझल्को दिएको बताइन्छ । ‘अहिलेको अवस्थामा तपाईं एमालेको अध्यक्ष बन्नुपर्यो’ भन्दै पुग्नेहरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल,गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ्ग,त्यहाँकै अर्थमन्त्री किरण गुरुङ्ग र प्रधानमन्त्री केपी ओलीका राजनैतिक सल्लाहकार विष्णु रिमाललगायत थिए । पौडेल भने साढे दश बजेतिरै निस्कनुभएको थियो !

गौतमलाई ‘पार्टी फुट्न र बहुदलीय जनवादलाई अर्को पक्षले धुलो पार्न लागेको हुनाले यस्तो बेलामा एमालेको अध्यक्ष बनिदिनुपर्यो । तपाईं हाम्रो पार्टीको सबैभन्दा पुरानो नेता हुनुहुन्छ ।’ भन्ने आग्रह गरिएको थियो ! भनियो-‘कमरेडले आफ्नो पछाडि हिँड्ने पंक्ति हेर्नुपर्यो । अहिले हामी यहाँ उपस्थित भएकालाई मात्रै हेरेपनि पुग्छ,कमरेड । केवल तपाईं अघि लागिदिनु पर्यो । पछाडि लाग्नेको चिन्तै लिनुपर्दैन ।’

राती नौ बजेदेखि गौतमलाई सम्झाइ बुझाइ गरेर प्रदेशका मन्त्री तथा नेताहरु भैंसेपाटीबाट मध्यरात पौने बाह्र बजे फर्कनुअघि उहाँलाई ‘पार्टी फुटेमा म त्यता लाग्दिँन’ भन्नेमा ‘ख’ गराएको बताइएको छ । तर,त्यसअघि गौतमले ‘पार्टीभित्र मैले बोलिसकेँ । यसवीच मलाई धेरै बदनाम गराइयो । तपाईंहरुले जे भनेपनि अहिलेचाँहि म फर्कंन्न । केपी कमरेडले दुईटामध्ये एउटा पदबाट राजीनामा दिनैपर्छ । त्यसमा पनि सबैभन्दा पहिले प्रधानमन्त्रीबाट चाँहि राजीनामा दिनुपर्छ’ भन्नुभएको बताइन्छ ।

स्रोतका अनुसार उहाँले यो पनि भन्नुभयो ‘अनुशासित सिपाहीको उदाहरण दिदै पार्टीको निर्णय र निर्देशन मान्नुभयो भने म आजीवन केपी कमरेडको पक्षमा लाग्ने छु । यसअघि पनि मैले नै उहाँलाई यो ठाउँमा पुर्याएको हुँ । पार्टी अध्यक्ष,संसदीय दलको नेता,प्रधानमन्त्री सबै मैले बनाएको हो,यसमा कुनै शंका छैन । तर, वहाँले मलाई धोका मात्रै दिनुभयो । यति हुँदाहुँदै पनि विधि पध्दति मान्नुभयो भने म साथ दिन्छु । तर, पार्टी एकताको लागि वहाँले एउटा पदचाँहि छोड्नुपर्छ ।’

गौतमले एक हुल मन्त्री तथा नेतालाई आफ्नो अडान नम्बर दुई भन्दै सुनाउनुभयो ‘पार्टी फुट्यो भने म उता लाग्दिनँ ।’ तर सहभागीहरुले गौतमको अडान नम्बर दुईलाई शंकाको दृष्टिकोणले बुझेका छन् । उहाँले ‘उता लाग्दिनँ’ भन्नुको अर्थ पार्टी फुट्यो भने ‘यता पनि लाग्दिनँ’ भनेको हुनसक्ने उनीहरुको ठम्याइ रहेको स्रोतको दाबी छ । पार्टीमा वर्षौंसम्म अँचेटेर किनारामा पुर्याएपछि यतिखेर वामदेवको चिन्ता लिँदै साथ खोज्नुलाई ‘भेलले बगाएको बेला बाँच्ने आशमा परालको त्यान्द्रो समाए झैँ’ ठानिएको छ ।

हिजो शुक्रबार गौतमलाई सम्भवतः चरम द्विविधामा पारिएको छ । हिजै दिउँसो शीतल निवासमा बोलाएर दुई घण्टा कुराकानी भएको छ । शीतल निवासमा गौतमलाई सारमा ‘पछिल्लो घटनाक्रम कसैको ईशारामा भइरहेकाले कमरेडले मनन् गर्नुपर्ने भन्दै ‘अहिले राष्ट्रवादीहरुलाई अप्ठेरोमा पार्न रचिएको खेलमा तपाईं जत्तिको राष्ट्रवादीले बुझ्नुपर्छ’ भनियो । उहाँलाई ‘महाकाली सन्धिको समयदेखि नै तपाईंले खरो राष्ट्रवादी नेताको पहिचान बनाउँदै आउनुभएको छ । त्यो छबिलाई यसपटक पनि कायम राख्नुहोला’ भनिएको थियो । शीतल निवासमा पार्टीका महिला नेतृ र साँसदहरुलाई बोलाउने र छलफल गर्ने क्रम पनि बाक्लिँदै गएको छ । - जन आस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस