काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । बुधवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेताहरूले यस्तो धारणा राखेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार नेताहरूले गगन थापा संयोजक रहँदा अद्यावधिक भएको पार्टी सदस्यताको विवरणलाई मान्यता दिएको खण्डमा एकता गर्ने नभए विकल्प खोज्नुपर्ने समेत नेताहरूको तर्क छ ।
नेता विश्वकर्माले बुधवारको बैठकमा १९ जना नेताहरूले धारणा राखेको जानकारी दिँदै अधिकांश नेताहरूले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएको बताए । उनले बैठकमा पार्टीको आन्तरिक विषयमा मात्र केन्द्रित नभई मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताए ।
उनले लोकतान्त्रिक प्रणालीमाथि संकट बढ्दै गएको, संविधानका अंगहरूमाथि हस्तक्षेप भइरहेको तथा सरकारले संसद्लाई छल्दै बाहिरबाट कानून निर्माण र शासन सञ्चालन गर्न खोजेको भन्दै यसतर्फ समेत छलफल केन्द्रित गर्नुपर्ने नेताहरूको धारणा रहेको बताए ।
उनले भने, ‘आज १९ जना साथीहरूले आफ्ना कुराहरू राख्नुभयो । सबै साथीहरूको निष्कर्ष के छ भने पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्छ । यसका लागि अद्यावधिक नामबाट जसरी केही व्यारियर्सहरु खडा भएका छन् । त्यसका बारेमा सहमति गरेर गगन थापा नै संयोजक हुँदा जसरी सदस्यता नवीकरणको प्रक्रिया टुंगिसकेको थियो त्यसलाई मान्यतामा राखेर अघि बढ्नुपर्दछ । र यदि त्यसो गर्नको लागि तयार नभएको अवस्थामा विकल्पमा जानुपर्छ भन्ने ढंगले धारणाहरू आए । आजको बैठकमा विशेष गरी हामी पार्टीको आन्तरिक विषयमा मात्रै अल्झिने होइन मुलुकको लोकतान्त्रिक प्रणाली नै संकटमा परिरहेको छ, संविधानका अंगहरुमा प्रहार भइरहेको छ, सरकारले संसद्लाई छलेर बाहिरबाट कानून निर्माण गर्ने र शासन गर्ने चाहाना राखिराखेको छ । यी सबै कुराहरूलाई छलफलको विषय बनाउनुपर्छ भन्ने कुरामा छलफल भयो । आज यिनै विषयमा छलफल भयो हाम्रो तीन दिनको बैठकको समग्र निष्कर्ष भोलि हामी निश्चित समय तोकेर सुनाउनेछौँ । राष्ट्रिय भेला बिपी स्मृति दिवसको अवसर पारेर साउन ६ गतेको लागि तोकिएको छ । मौसमलाई ख्याल गरेर भेला गर्ने कुरामा सैद्धान्तिक सहमति भएको छ ।’
उनले इतर पक्षको राष्ट्रिय भेला बिपी स्मृति दिवसको अवसर पारेर साउन ६ गते गर्ने सैद्धान्तिक सहमति भएको बताए ।
उनले मौसमको अवस्था हेरेर भेलाको समय तलमाथि भए पनि साउनभित्र गरिसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असार २०८३, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै