मौद्रिक नीतिको वार्षिक समीक्षा

आन्तरिक अर्थतन्त्र चलायमान गराउने चुनौती कायमै (पूर्णपाठसहित)

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०८३, १२ : ५३
आन्तरिक अर्थतन्त्र चलायमान गराउने चुनौती कायमै (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन स्थितिको वार्षिक समीक्षा गरी प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष मौद्रिक नीतिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दा बैंकले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेको मौद्रिक नीतिको सिंहावलोकन र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ ।

सो व्यवस्थाअनुरूप आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयन स्थितिको वार्षिक समीक्षा गरी यो प्रतिवेदन तयार पारिएको छ । यस प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्दाका समयमा विद्यमान समष्टिगत आर्थिक परिदृश्य, नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखिएका चुनौती एवम्सोको कार्यान्वयन स्थितिको समीक्षा गरिएको छ ।

वार्षिक समीक्षा प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको दश महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ । २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएकोमा २०८३ वैशाखमा विन्दुगत आधारमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ६.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिएकोमा २०८३ वैशाख मसान्तमा कायम सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

ब्याजदर कोरिडोरको तल्लो र माथिल्लो सीमा बीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई कोरिडोरको बीचमा कायम गर्ने उद्देश्यले ब्याजदर करिडोरलाई थप साँघुरो बनाउँदै लगिएको छ ।

आर्थिक आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन घ वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधाको ब्याजदर ६.० प्रतिशत, तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५ प्रतिशत तथा नीतिगत दर ४.५० प्रतिशत निर्धारण गरिएकोमा पहिलो समीक्षामार्फत माथिल्लो सीमा र नीतिगत दरलाई क्रमशः ५.७५ प्रतिशत र ४.२५ प्रतिशत कायम गरिएको थियो ।

सञ्चालन लक्ष्यको रूपमा भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम गर्ने लक्ष्य तय गरिएको थियो। २०८३ वैशाखमा भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको व्यवस्थाअनुसार तरलता व्यवस्थापनका लागि नियममा आधारित खुला बजार कारोबार सञ्चालन गरिएको छ । नियमित मौद्रिक उपकरणका अतिरिक्त बैंकिङ प्रणालीमा रहेको संरचनागत प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को दस महिनासम्ममा ४ दिनदेखि १७५ दिनसम्मको निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१ पटक, स्थायी निक्षेप सुविधामार्फत ११७ पटक तथा १ वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत जम्मा ९ पटक तरलता प्रशोचन गरिएको छ । २०८३ वैशाखमा निक्षेप सङ्कलन बोलकबोलमार्फत, स्थायी निक्षेप सुविधामार्फत र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत गरिएको तरलता प्रशोचनको बक्यौता रकम क्रमशः रु. ७१६ अर्ब ७० करोड, रु. १११ अर्ब ९० करोड र रु. २०० अर्ब रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को दस महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलर खुद खरिदमार्फत रु.९४६ अर्ब २६ करोड तरलता प्रवाह भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता रहेका कारण अल्पकालीन ब्याजदरहरू ब्याजदर कोरिडोरको तल्लो सीमाकै हाराहारीमा रहेका छन् । २०८३ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत तथा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर २.६३ प्रतिशत कायम भएको छ । अल्पकालीन ब्याजदरहरू न्यून रहेको तथा अधिक तरलताको स्थिति रहिरहेका कारण निक्षेप र कर्जाको ब्याजदरहरू थप घट्दै गएको स्थिति छ ।

वैशाखमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको निक्षेपको औसत ब्याजदर क्रमशः ३.३५ प्रतिशत, ३.७० प्रतिशत र ४.५९ प्रतिशत रहेको । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको कर्जाको भारित औसत ब्याजदर क्रमशः ६.७३ प्रतिशत, ७.८७ प्रतिशत र ९.१४ प्रतिशत रहेका छ ।

 

प्रतिक्रिया दिनुहोस