चितवनमा एकै दिन दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण

सूर्यप्रकाश कँडेल

सोमबार, २६ जेठ २०७७, १७ : ५१
चितवनमा एकै दिन दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण

फाइल फाेटाे

चितवन । भरतपुरमा रहेको एक निजी अस्पतालमा कार्यरत दुई जना चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत शुक्रबार र शनिबार संकलन गरी भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सोमबार उनीहरुको पिसिआर नतिजा पोजेटिभ आएको हो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा. श्रीराम तिवारीका अनुसार संक्रमितमध्ये पाँच जना नवलपरासी सुस्तापूर्वका, एक जना धादिङ र १७ जना चितवनका हुन् । कोभिड प्रयोगशालामा परीक्षणका लागि पठाइएका ३ सय १० वटा स्वाब नमूनामध्ये २३ जनाको नतिजा पोजेटिभ आएको उनले बताए । भरतपुरस्थित एक निजी अस्पतालको आइसीयूमा उपचाररत बिरामीबाहेक अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको मेसु डा. तिवारी बताउँछन् । संक्रमितमध्ये आठ जना महिला र १५ जना पुरुष रहेको उनले जानकारी दिए । 

संक्रमितहरुले १४ दिन आइसोलेसनमा बिताउनु पर्नेछ । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र सम्बन्धित ठाउँ सिल गर्ने काम सुरु गरिसकिएको डा. तिवारीले जानकारी दिए । भरतपुर अस्पतालले सोमबार दिउँसो गरेको फेसबुक लाइभमार्फत थपिएका संक्रमितहरुबारे जानकारी दिइएको हो ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमितहरुलाई दुई समूहमा विभाजन गरी एकथरीलाई भरतपुर कोरोना अस्थायी अस्पतालमा र अर्काथरीलाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिने बताए । उनले एक निजी अस्पतालको आइसियूमा उपचाररत बिरामीलाई त्यहीँको आइसियूमा हेरचाह गरिने र त्यसो गर्न सम्भव नभएको खण्डमा भरतपुर अस्पतालको कोभिड आइसियूमा राखिने जानकारी दिए । संक्रमित दुई जना चिकित्सक कुन अस्पतालमा कार्यरत हुन् भन्ने केही खुलाइएको छैन ।

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या चितवनमा ३४ जना पुगेको छ । यसअघि ११ जनामा संक्रमण पाइएकोमा तीमध्ये तीन जना निको भएर घर फर्किसकेका छन् । बाँकी आठ जनामध्ये पाँच जनाको कोरोना अस्पतालमा, दुई जनाको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा र एक जनाको आइसियूमा उपचार भइरहेको भरतपुर अस्पतालको कोभिड क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले बताए ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार सोमबार थपिएका २३ जना संक्रमितमध्ये नवलपुर सुस्तापूर्वका चार जना पुरुष र एक जना महिला छन् । उनीहरु ३३ देखि ६३ वर्षका छन् । धादिङ गजुरीकी ३२ वर्षीया महिलामा पनि संक्रमण पाइएको छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा उपचाररत २५ वर्षीय पुरुष र ६६ वर्षीया महिला एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराई हाल डिस्चार्ज भइसकेकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

माडी नगरपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये पाँच जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण भेटिएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर चार, ६ र २१ मा तीन जना महिला र दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । चितवनमा कोरोना संक्रमणको पहिलो केस वैशाख ४ गते राप्ती नगरपालिका ८ निवासी आमा र छोरामा देखा परेको थियो । उनीहरु दुबै जना निको भई घर फर्किसकेका छन् ।