बिराटनगर । नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार मोरङका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो । घरमा शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुली गर्ने गरेको आरोप छ ।
मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन् । उनीहरूले दैनिक ८० रुपैयाँ भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।
त्यसबाहेक कारागारभित्र करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो । जाडोमा २५ सय र गर्मीमा २५ सय रूपैयाँ कपडा खरिदका लागि भनेर सरकारले उपलब्ध गराउदै आएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'कैदीबन्दीको पैसा कुन–कुन च्यानलबाट गिरीको खातामा पुग्यो भन्नेबारे हामी प्रमाण संकलन गरिरहेका छौँ । प्रारम्भिक सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।'
गिरीले आफ्ना सहयोगिको खातामा पैसा पठाउन लगाएर लिने गरेको प्रहरी स्रोतले दाबी गर्यो । प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो । गाडीमा केही फेला नपरेपछि प्रहरीले घरभित्र सर्च गरेको थियो ।
मोरङका प्रहरी उपरीक्षक एसपी कवित कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान शुरू गरिएको जानकारी दिए । यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका गिरी कारागारबाट छुटेपछि कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०८३, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ