एजेन्सी । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी घाइते भएका छन्। सरकारका अनुसार भग्नावशेषमा पुरिएकाहरूका लागि उद्धार कार्य तीव्र पारिएको छ भने हराइरहेका परिवारका सदस्यहरूको पर्खाइमा मानिसहरू छटपटाइरहेका छन्।
देशको उत्तरी क्षेत्र र राजधानी काराकासका दर्जनौँ भवनहरू भत्किएपछि घाइतेहरूको अस्थायी चिकित्सा शिविरहरूमा उपचार भइरहेको छ। एक सरकारी उच्च अधिकारीले देशमा सयौँको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू आइसकेको र अन्य टोलीहरू आउने क्रम जारी रहेको जानकारी दिएका छन्।
बुधबार भेनेजुएलामा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए। जसमा दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको थियो, जसलाई एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली धक्का मानिएको छ।
राजधानीको उत्तरमा रहेको ला गुइरा क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ देशको मुख्य विमानस्थल र एउटा प्रमुख बन्दरगाह रहेको छ। भूकम्पपछि धेरै मानिसहरू बेपत्ता भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। ला गुइरामा एक महिला नाताचा डियाजले मलको भग्नावशेषमा आफ्ना दुई छोरीहरू फसेको र उनीहरू जीवितै फर्किने आशमा आफू रहेको रुँदै सुनाइन्।
राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिगेजले शुक्रबार सरकारी टेलिभिजनमार्फत मृतकको संख्या ९२० पुगेको र कम्तीमा १७२ जना अझै भग्नावशेषमा फसेको हुनसक्ने बताए। ला गुइरा क्षेत्रबाट मात्रै कम्तीमा २४३ जनाको जीवितै उद्धार गरिएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले दर्जनौँ मानिसलाई जीवितै उद्धार गर्न सकिएकोमा खुसी व्यक्त गरेकी छिन्। उनका अनुसार मुख्य भूकम्पपछि हालसम्म २१४ वटा पराकम्पहरू गइसकेका छन्। भूकम्पका कारण अस्पताल र सपिङ सेन्टरसहित सयौँ भवनहरू ध्वस्त भएका छन् भने अन्य १ हजारभन्दा बढी पूर्वाधारमा क्षति पुगेको छ।
विपत्ति अघि नै संकटमा रहेको भेनेजुएलाको स्वास्थ्य क्षेत्र अहिले बिरामीको चापले थिलथिलो भएको छ। चिकित्सक पेड्रो जाभियर फर्नान्डेजले सामान्य अवस्थामा पनि औषधि र सामग्रीको अभाव झेलिरहेका अस्पतालहरूका लागि यो महाविपत्ति सामना गर्न निकै कठिन भएको बताए।
सञ्चार अवरोध, भत्किएका सडक र साधनस्रोतको अभावका कारण सुरुवाती उद्धारमा कठिनाइ भए पनि उद्धारकर्मीहरूले खाली हातले समेत भग्नावशेष पन्छाएर मानिसहरूलाई बाहिर निकालिरहेका छन्। बेलायत, अमेरिका, नेदरल्याण्ड्स, मेक्सिको र स्विट्जरल्याण्ड जस्ता देशहरूले आफ्ना विशेषज्ञ टोली, कुकुर र ड्रोनसहितका उद्धार सामग्री पठाएका छन्। अमेरिकाले १५ करोड डलर सहायताका साथै युद्धपोत र ढुवानी विमान पठाउने घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०८३, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा