छुवाछुतको बिरुद्धमा एउटा प्रश्न : शरीर पहिला कि भाषा ?

विहीबार, १५ जेठ २०७७, १३ : ०४
छुवाछुतको बिरुद्धमा एउटा प्रश्न : शरीर पहिला कि भाषा ?


- भूपिन खड्का

 

दर्शनशास्त्रमा एक महत्वपूर्ण प्रश्न छ, पदार्थ पहिला कि चेतना ? यहीँबाट मोटामोटी दर्शनप्रतिको हाम्रो बुझाइ र पक्षधरता छुट्टिन्छ । ब्रम्हाण्डमा पहिला पदार्थको अस्तित्व स्वीकार गर्नेहरू भौतिकवादी भए । उनीहरूले विज्ञानलाई माने । चेतनालाई प्राथमिक मान्नेहरू अध्यात्मवादी भए । उनीहरूले ईश्वरलाई माने । 

यतिमात्र त काफी छैन दर्शन बुझ्न, यसका अरु अनेक आयाम र तन्तुहरू छन् । दर्शनजस्तो गहन र जटिल विषयलाई सापेक्षित सरल र वस्तुगत रुपमा बुझ्न सजिलो हुने अर्थमा यस्तो व्याख्या हुने गर्छ । 

यसरी नै मानवशास्त्रमा एक महत्वपूर्ण प्रश्न छ, शरीर पहिला कि भाषा ? अर्थात पहिला मानिस जन्म्यो कि भाषा ? तपाईँहरूलाई के लाग्छ ?

यदि तपाईँ विज्ञानमा विश्वास गर्नु हुन्छ भने तपाईँको उत्तर हुनेछ, पहिला त शरीर नै हो जन्मेको । मानव उदविकासलाई बु्झ्दै जाँदा हामी लामो यात्रा तय गरि पुच्छर नभएको बाँदर एपबाट विकशित भएर अहिलेको विकशित मानव बनेका हौँ । जीवविज्ञानले स्वीकारेको अझसम्मको सर्वाधिक बलियो तथ्य यही हो । तर प्रारम्भमा मानिससँग संवादका लागि भाषा थिएन । सञ्चारको आवश्यकताले गर्दा मानिसले भाषाको आविष्कार गर्यो । भाषाले कथा रच्यो, जुन सबैभन्दा बलियो बनिदियो । फ्याक्टभन्दा पनि फिक्सन बलियो हुन्छ भन्ने कथनले कथाको शक्तिलाई अभिव्यक्त गर्छ । 

यही भाषा हो जसले मानिसको जीवनलाई साह्रै सहज बनाइदियो, मानिसलाई अन्यप्राणी भन्दा अलग क्षमता सम्पन्न पनि । तर यही भाषा हो, जसले असमानता र विभेदका भाष्यहरू पनि जन्मायो । जस्तै: गोरो सुन्दर, कालो असुन्दर । पुरुष मालिक, महिला दासी । नाजी महान, यहुदी खराब । र दक्षिण एसियाको सन्दर्भमा कथित छुत महान्, कथित अछुत तुच्छ । ब्रम्हाको पैतलाबाट सुद्र जन्मे आदि । 

भाषाले एकै उदविकासबाट आएका मानिस मध्ये एकथरिलाई छुत र अर्कोथरिलाई अछुत बनाइदियो । जुम्ली धाराजस्तो जहाँ आएर ट्याङ्कीको उही पानी एकातिर पवित्र, अर्कोतिर अपवित्र । शरीरमा समान मानिसहरूलाई, भाषाले अलग बनाइदिने ठूलो षडयन्त्रको रचना गरियो । विश्व एक परिवार हो र हामी एउटै आमाका सन्तान हौँ भन्ने दर्शन मान्नेहरू बीचबाटै एकथरिलाई जन्मकै आधारमा समाजबाट अलग थलग पार्ने घिनलाग्दो षढयन्त्र मौलायो । कतिसम्म भने कम्मरमा मयुरको प्वाँख राखेर आफ्ना पदचिन्हहरू समेत मेट्दै हिँड्नु पर्ने अवस्थामा दलितहरूलाई फसाइयो । कानुनले समेत समान अपराधमा छुतलाई कम र अछुतलाई बढी सजायँ तोक्यो । कानुनले नै छुट दिएपछि मानिसहरूले झन बढी अश्पृष्यताको अभ्यास गरे र एक सास्कृतिक कलंकको रुपमा छुवाछुत हाम्रो सभ्यतामा रहिरह्यो । जुन सर्वाधिक घृणास्पद छ । 

भाषाले कोरिदिएको यही विभेद हो, जसको कारण हाम्रो समृद्ध पूर्विय चिन्तन प्रणालीमा ग्रहण लगाइदिएको छ । बुद्ध, गान्धी, अम्बेडकरदेखि सर्वजित विश्वकर्माहरू यस ग्रहण पन्छाउनतिर लागे । बुद्ध दर्शनले यस अमानविय भाष्यलाई सम्पूर्णतस् खारेज गरिदियो । तर कतिपयले उनलाई अनुसरण गर्यौँ, कतिपयले खिसिट्युरी गर्यौँ । 

यहीँबाट प्रष्ट हुन्छ, तपाईँ समतावादी कि विभेदकारी ? 
आफैले आफैलाई सोध्नुस्, तपाईँ केलाई पहिला मान्नु हुन्छ ? 
शरीरलाई कि भाषालाई ?

शरीरलाई पहिला मान्नुहुन्छ भने भाषाले बनाएको अछुतपन वा अश्पृष्यतालाई आजैदेखि त्यागिदिनुस् । यो दलनबाट मुक्तिका लागि हामी कथित छुतहरूले बोल्नु अत्यन्त जरुरी भैसक्यो ।

पूर्विय चिन्तन प्रणाली अत्यन्त महत्वपूर्ण छ, तर त्यसमा ग्रहण लागेको छ । अश्पृष्यताको यो खग्रास ग्रहण नहटेसम्म तपाईँ हामीले जति गफ दिए पनि हाम्रो सस्कार र सभ्यता गर्व गर्न लायक बन्दैन । नवराज बिकहरू मारिइरहन्छन् । रुपन्देहीमा जस्तै नानीहरूको बलत्कार पछि हत्या भइरहन्छ । 

सोच परिवर्तन गरौँ । 
म छुवाछुतको बिरुद्धमा छु ।
अनि तपाईँ ?

प्रतिक्रिया दिनुहोस