म पनि गुट बनाउँछु : वामदेव गौतम

पत्रपत्रिकाबाट

विहीबार, २५ बैशाख २०७७, ०७ : १८
म पनि गुट बनाउँछु : वामदेव गौतम

फाईल फोटो

काठमाडौँ । पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ ।

नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो । तर यी चार दिनमा विषय समाधानतिर जानुको साटो झन् विवादोन्मुख भएको छ ।

सचिवालय बैठकमा बुधबार उपाध्यक्ष वामदेव गौतमले गुट नभएसम्म बलियो नभइँदो रहेछ भन्ने सन्देश मिलेको बताएका थिए । उनले गुट भएपछि मात्रै नेता पनि बलियो हुँदा रहेछन् भनेर कटाक्ष गरेका थिए । ‘तपाईंहरू सबैको आआफ्नो गुट छ, बलियो हुनुहुन्छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि अब एउटा छुट्टै गुट बनाउँछु ।’ बैठकमा गौतमले छुट्टाछुट्टै गुटबन्दी गरेर नेताहरूले ठीक नगरेको प्रतिक्रिया दिएका थिए । गौतम पछिल्लो समय नेकपा सचिवालयमा कहिले ओली र कहिले दाहाल गुटमा यता र उता गरिरहेका छन् । गत शनिबारको सचिवालय बैठकपछि ओली गुटमा मिसिएका गौतमले बिहीबार आफूलाई तटस्थ नेताका रूपमा व्याख्या गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस