कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना अघि बढाउन स्वास्थ्य मन्त्रीको निर्देशन

सफल खबर संवाददाता

आइतबार, २१ असार २०८३, १७ : २९
कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना अघि बढाउन स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया शीघ्र अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्।

आइतबार अस्पतालको अनुगमनका क्रममा मन्त्री मेहताले हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गर्दै छुट्टै विशिष्टीकृत आँखा अस्पतालका रूपमा विकास गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारको योजना तत्काल कार्यान्वयनमा लैजान आग्रह गरिन्।

अनुगमनका क्रममा उनले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन भवनको निरीक्षण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरसफाइमा विशेष ध्यान दिन, निर्माण तथा मर्मतसम्भारका काम समयमै सम्पन्न गर्न, आवश्यक पूर्वाधार व्यवस्थापन व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिएकी छन्।

मन्त्री मेहताले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस