भरतपुर अस्पतालद्वारा आइसियु प्रतीक्षा सूची डिजिटल बोर्डमार्फत सार्वजनिक गर्ने व्यवस्था लागू

रासस

आइतबार, २१ असार २०८३, २० : ५७
भरतपुर अस्पतालद्वारा आइसियु प्रतीक्षा सूची डिजिटल बोर्डमार्फत सार्वजनिक गर्ने व्यवस्था लागू

काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता र सेवा पहुँचलाई व्यवस्थित बनाउन प्रतीक्षामा रहेका बिरामीहरूको विवरण विद्युतीय सूचना पाटी (डिस्प्ले बोर्ड) मार्फत सार्वजनिक गर्ने नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ।

अस्पताल प्रशासनका अनुसार आइसियु शय्या उपलब्धता सम्बन्धी जानकारीलाई सहज र पारदर्शी बनाउन प्रतीक्षा सूचीलाई सार्वजनिक गरिएको हो। साथै शय्या खाली हुने बित्तिकै सम्बन्धित बिरामी वा परिवारजनलाई मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी दिने व्यवस्था पनि लागू गरिएको छ।

आकस्मिक विभागमार्फत भर्ना प्रक्रिया अद्यावधिक गरिने उक्त प्रणालीले शय्या उपलब्धता तथा प्राथमिकताका आधारमा सेवा वितरणलाई अझ व्यवस्थित बनाउने लक्ष्य लिएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा। रामप्रसाद सापकोटाका अनुसार आइसियु सेवामा निष्पक्षता, पारदर्शिता र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो। उनका अनुसार यसले सेवाग्राहीलाई आवश्यक जानकारी समयमै उपलब्ध गराउन र चिकित्सकीय प्राथमिकताका आधारमा सेवा प्रवाह गर्न सहयोग पुग्नेछ।

छ सय शय्या क्षमताको भरतपुर अस्पतालमा वयस्कतर्फ ३८ शय्या आइसियु तथा सिसियु सेवा, बालबालिका र नवजात शिशुका लागि ३५ शय्या आइसियु सेवा तथा ५० शय्याको आकस्मिक विभाग सञ्चालनमा रहेको छ। अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन्।