संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीपी कार्की न्यूयोर्क प्रस्थान

सफल खबर संवाददाता

आइतबार, २१ असार २०८३, २१ : ०८
संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीपी कार्की न्यूयोर्क प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजना हुने पाँचौँ ‘यूएन पुलिस समिट’ मा भाग लिन प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।

असार २३ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा विश्वव्यापी सुरक्षा चासो र प्रहरी प्रविधिका महत्त्वपूर्ण विषयहरूमा छलफल हुनेछ।

समिटमा ‘रिफ्लेक्सन अन द फ्युचर अफ यूएन पुलिस’, ‘लेभरेजिङ न्यु टेक्नोलोजी’, अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरण, भाषा तालिममार्फत शान्ति स्थापना कार्यलाई मजबुत बनाउने र ‘जेन्डर रेस्पोन्सिभ पोलिसी’ लगायतका एजेन्डा तय गरिएका छन्।

सम्मेलनको अवसर पारेर प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विश्व सुरक्षा निकायका प्रतिनिधिहरूसँग ‘साइडलाइन’ वार्तासमेत गर्नेछन्।

सो क्रममा उनले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारीहरूका साथै संयुक्त अरब इमिरेट्स (यूएई) को प्रतिनिधिमण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ।

न्यूयोर्क प्रस्थान गरेका दुवै संगठनका प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायतका वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामनासहित बिदाइ गरेका थिए।

प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस