नेकपाको विवादले बैठक नै प्रभावित, प्रचण्डले बैठक बोलाउन सक्नुहुन्छ : श्रेष्ठ

मंगलबार, २७ फागुन २०७६, ०६ : ५९
नेकपाको विवादले बैठक नै प्रभावित, प्रचण्डले बैठक बोलाउन सक्नुहुन्छ : श्रेष्ठ

- मधुसूदन रायमाझी
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ। उहाँ अस्पतालमा भर्ना भएपछि सचिवालय बैठक बस्न सकेको छैन।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय अन्योलमा परेसँगै बैठक पनि प्रभावित बन्न पुगेको हो। गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि मात्र राष्ट्रपतिले मनोनित गर्ने प्रावधान छ। तर, सरकारले निर्णय नगर्दा गौतम राष्ट्रियसभाको सदस्य बन्ने बाटो खुल्न सकेको छैन।

प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि सचिवालयको बैठक बसे पनि गौतमको विषयमा कुनै खास निर्णय भएन। यता, प्रधानमन्त्री ओली अस्पतालमा रहेकै बेला राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले पुनः अर्थमन्त्री बनाएको छ। तर, प्रधानमन्त्री ओलीले गौतमका बारेमा कुनै निर्णय लिनुभएको छैन। गौतमका कारण विवादमा रुमलिएको नेकपाको केन्द्रीय समिति बैठकले गरेको निर्णयसमेत कार्यान्वयन हुन सकेको छैन।

गत माघ २० मा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणको बाँकी काम १५ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो।

तर एक महिना पुग्दासमेत उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समितिको बैठले गरेको निर्णय कार्यान्वयन गर्न ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘ढिला भएको छ, अब बैठक बसेर निर्णय हुन्छ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली अस्पताल भर्ना भए पनि पार्टी सञ्चालनको जिम्मेवारी पाउनुभएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सचिवालय बैठक बोलाउनुभएको छैन। केही दिन रुघाखोकीका कारण घरमै आराम गरेका अध्यक्ष प्रचण्ड आइतबार गृहजिल्ला चितवन पुगेर फर्किनुभएको छ।

अध्यक्ष ओलीको अनुपस्थितिमा पनि प्रचण्डले बैठक बोलाउन सक्नुहुन्छ, प्रवक्ता श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘सचिवालयको बैठक बसेर पनि पार्टीले निर्णय गरेर अघि बढ्छ।’ अब सचिवालय बैठक कहिले बस्छ भन्ने जिज्ञासामा उहाँले केही दिनभित्र अध्यक्ष प्रचण्डले गृहकार्य गरेर बैठक बोलाउनसक्ने बताउनुभयो। यसअघि प्रधानमन्त्री स्वास्थ्य उपचारमा अस्पताल भर्ना हुँदा प्रचण्डले सचिवालय बैठक बोलाउनुभएको थियो।

तर पार्टीभित्र वामदेवको कारण विवाद चुलिएपछि प्रचण्डले सचिवालय बैठक बोलाउनुभएको छैन। नेकपाको सचिवालयका बहुमत केन्द्रीय सदस्यहरू गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आएका छन्।  - आजको नेपाल समाचार पत्र दैनिकबाट यो समाचार लिइएको हो ।

प्रतिक्रिया दिनुहोस