माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी

आइतबार, २५ फागुन २०७६, १५ : २०
माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी

काठमाडौं । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको आरोपमा बाबुराम श्रेष्ठ पक्राउ परेका छन् । 

अर्घाखाँची घर भएका ३९ वर्षीय श्रेष्ठलाई शनिबार प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
श्रेष्ठविरुद्ध ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।

श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरु महानगरीय प्रहरी परिसर काठमाडौंमा आइपुगेका छन् । माल्टा पठाइदिन्छु भन्दै श्रेष्ठले २६ जनाबाट प्रतिव्यक्ति ६–६ लाख लिएको र कुवेत पठाइदिन्छु भन्दै ३४ जनाबाट प्रतिव्यक्ति ४–४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

श्रेष्ठकी श्रीमतीले पनि परिसरमा आएर पैसा फिर्ता गरिदिने भन्दै पीडितहरुलाई आश्वसन दिएकी थिइन् । पीडित र श्रेष्ठकी श्रीमतीबीच छलफल जारी छ । 

श्रेष्ठले सुन्धारास्थित सिटीसी मलमा मसाज सेन्टर चलाउँदै आएका छन् । उक्त मसाज सेन्टरबाट ५६ थान पासपोर्ट बरामद भएको डिएसपी बोगटीले जानकारी दिए । ‘कुबेत र माल्टाका परराष्ट्र अधिकारीहरुसँग आफ्नो चिनजान रहेको भन्दै श्रेष्ठले ठगी गर्ने गरेको पाइएको छ’ डिएसपी बोगटीले भने ।