शिष्टाचार केपी ओलीको आँखाबाट : जहाँ कुर्सीले बोल्छ, व्यवहारले व्याख्या गर्छ

यस्तै दृश्यपछि प्रश्न उठ्छ – ओलीको शिष्टाचार केवल भाषणको सामग्री हो कि व्यवहारको मार्गदर्शक ?

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १० : ५४
शिष्टाचार केपी ओलीको आँखाबाट : जहाँ कुर्सीले बोल्छ, व्यवहारले व्याख्या गर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको लागि ‘शिष्टाचार’ शब्द कुनै सामान्य शब्द होइन, त्यो उनको राजनीतिक दर्शनको केन्द्रबिन्दुजस्तो भइसकेको छ । उनी यो शब्दको बडो सजीव पाठशाला जस्तै प्रस्तुत हुन्छन् – खासगरी भाषाको विषय आउँदा त उनी ‘गुरु आफैं’ बन्न पुग्छन् ।

वर्षौंयता उनले राष्ट्रपतिलाई कसरी सम्बोधन गर्ने भनेर मिडिया र जनतालाई पाठ पढाउँदै आएका छन् । “राष्ट्रपतिलाई ‘तिमी’ भन्न पाइन्छ?” भन्ने प्रश्न उनी यति बेला–बेलामा उठाउँछन् कि लाग्छ, नेपालको संविधानमा कुनै मूल अधिकार भन्दा पहिले ‘राष्ट्रपति सम्बोधन ऐन’ आउनुपर्ने हो ।

गोरखापत्रको १२५ औँ वार्षिकोत्सवमा त झन् उनले बाक्लै व्यंग्य कसे – “नातिसँग कुरा गरेजस्तो राष्ट्रपतिले उद्घाटन गरे रे ! यो के नेपाली भाषा हो ?” । एकछिन त लाग्छ, ओलीले भाषाशास्त्र, व्याकरण, काव्यशास्त्र र संस्कारशास्त्र सबै आफ्नो कुर्सीबाटै अध्यापन गरिरहेका छन् ।

तर, त्यो कुर्सी नै अब उनको ‘शिष्टाचार दर्शन’को सबैभन्दा बलियो आलोचक बन्न पुगेको छ ।

शनिबार बालुवाटारमा भएको योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा ओलीको आसन देखेर धेरैको निधार खुम्चिएको छ। प्राज्ञिक गरिमा, पद, र संस्थागत संस्कारको प्रतीक मानिने शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री त्यस्तो ढंगले टेबलमा अडेस लागेर बसेका थिए, मानौं सपथ लिन उनी आफैं उपस्थित भएका हुन् । कुलपति र रजिस्ट्रारले सपथ लिइरहँदा उनी न त उभिए, न मुस्काए – केवल ‘राजसी गौरव’सहित कुर्सीमा टेकिएको हात, टाउकोको घुमाउरो र अनुहारको हेराइले बताउँथ्यो – “तपाईंहरू आफैं शपथ खाएँ, म यहाँ आफ्नो पदको उपस्थिति मात्र देखाइरहेछु ।

शिष्टाचारको पाठ पढाउने ‘आचार्य ओली’ आफैं शिष्टताको कक्षाबाट अनुपस्थित देखिनु घटनावाचक मात्रै होइन, विडम्बनात्मक छ ।

यो केवल शारीरिक आसनको कुरा होइन – यो एउटा मानसिक अवस्थाको झल्को हो, जहाँ आफूले बोलेको मापदण्ड आफूमा लागू नहुने सोच गढिएको हुन्छ । जब उनले अरूलाई ‘संस्कार सिकाउँछु’ भन्दै माइकमा झम्टिन्छन्, त्यसको बखान गर्न टनक सुनिन्छ । तर जब आफैं एक प्राज्ञिक समारोहमा संस्कार देखाउनुपर्ने हुन्छ, त्यतिबेला उनका हाउभाउ, भाषाशैली र शरीरको भंगिमा सबैले अर्कै कथा सुनाउँछ ।

अनि यस्तै दृश्यपछि प्रश्न उठ्छ – ओलीको शिष्टाचार केवल भाषणको सामग्री हो कि व्यवहारको मार्गदर्शक ?

उनी चाहन्छन्, ‘राष्ट्रपतिलाई महोदय भनुन्, मलाई महाराज भन्नुहोस्’ जस्तो संरचना निर्माण होस् । तर व्यवहारमा शिष्टाचार उनलाई भाषिक लठ्ठीको रूपमा चाहिन्छ, जसबाट अरूलाई ठोकिने तर आफू त्यसभन्दा माथि रहने ।

शिष्टाचारको डण्डा लिएर हिँड्ने ओलीलाई अब एउटा सानो सुझाव – भाषिक संस्कारको बहस रोक्नु पर्दैन, तर कम्तिमा कुर्सीको संस्कार भने सम्झिनुहोस् । किनकि केही पाठ भाषणले सिकाउँदैन, व्यवहारले मात्रै देखाउँछ ।

प्रतिक्रिया दिनुहोस