चितवनको कान्दामा २ घण्टा बोकेर हाते ट्याक्टर पुर्‍याउँदा …

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, ०९ : २९
चितवनको कान्दामा २ घण्टा बोकेर हाते ट्याक्टर पुर्‍याउँदा …

भरतपुर (चितवन) । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्याक्टर पुर्‍याएका छन् ।

पहिलोपटक बारी जोत्ने ट्याक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्याक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए । उनले भने, ‘युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्याक्टरले जोत्न पाउँदा सहज हुने भयो ।’

राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्याक्टर कान्दा पुर्याएका हुन् । हाते ट्याक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए ।

यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस