राजदूतमा सरकारको अनौठो मापदण्ड : नेताका सासू र सालीदेखि व्यापारीका छोरीसम्म योग्य

पत्रपत्रिकाबाट

सोमबार, १९ फागुन २०७६, ०८ : ५६
राजदूतमा सरकारको अनौठो मापदण्ड : नेताका सासू र सालीदेखि व्यापारीका छोरीसम्म योग्य

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ । 

पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन ।कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा जापानमा राजदूत छिन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले राणालाई वैशाख ०७४ मा राजदूत बनाएको हो ।

जापानजस्तो नेपालको असल विकास साझेदार देशमा बुढेसकालमा आराम गर्न राणालाई पठाइएको हो । उनको कामको विषयमा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सन्तुष्ट छैनन् । त्यतिवेला कांग्रेस सरकारमा रहेकाले उनको नियुक्त भयो । अहिले देउवा प्रतिपक्षी दलका नेता भएकाले सरकारले राणालाई फिर्ता बोलाउन सकेको छैन । 

कांग्रेस र माओवादीकै सरकारका पाला विजय गच्छदारको पार्टीको कोटाबाट शर्मिला पराजुली ढकालले राजदूत हुने अवसर पाएकी थिइन् । म्यानपावर व्यवसायी उनलाई ओमानका लागि राजदूत बनाइएको थियो । नेपाली कामदारका लागि ओमान पनि आकर्षक गन्तव्य हो । तर, कामदारको हकहित संरक्षण गर्ने होइन, म्यानपावर व्यवसाय प्रवद्र्धन गर्न दिने उद्देश्यले पराजुलीलाई राजदूत बनाइएको थियो । तत्कालीन सरकार मात्र होइन, वर्तमान सरकारको नेतृत्वसँग पनि उनले धेरै राम्रो सम्बन्ध बनाएकी छिन् । त्यसैले उनको पद पनि सुरक्षित छ । 

ओली सरकारका पाला राष्ट्रिय सम्पत्तिमा सबैभन्दा बढी दोहन गरेको यती समूहले कूटनीतिक क्षेत्रमा पनि परिवारका मान्छे पठाएको छ । यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाकी छोरी दावाफुटी शेर्पालाई सरकारले गत ९ भदौमा राजदूत बनाएको हो । स्पेनमा नेपालको कूटनीतिक प्रतिनिधित्व उनैले गर्छिन् ।अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले साली अञ्जन शाक्यलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनाएका थिए । यसपालि उनलाई राजदूत बनाएर इजरायल पठाएका छन् । 

सुशील कोइराला प्रधानमन्त्री हुँदासम्म कांग्रेसको राजनीति गरेका महेशराज दाहाललाई तत्कालीन सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक बनाएको थियो । तर, गत निर्वाचनमा उनी चितवनमा वाम गठबन्धनको प्रचारमा हिँडे । एमाले र माओवादी मिलेपछि नेकपामा समाहित भएका दाहाल अहिले अस्ट्रेलियाका लागि राजदूत छन् । यस्ता कुनै पनि राजदूतको कार्यक्षमतामाथि सरकारलाई चासो छैन । तर, लीलामणि पौड्याललाई भने चीनबाट तत्काल फिर्ता बोलाइएको छ ।  आजको नयाँ पत्रीकामा खबर छ ।