कस–कसका घेराबन्दीमा छन् त प्रधानमन्त्री ओली ?

विष्णु रिमाल, गोकुल बाँस्कोटा, सूर्य थापा देखि डा. राजन भट्टराईसम्मको घेराबन्दीमा पर्ने र उनीहरुकै कुरामा विश्वास गर्दा ओलीलाई पर्ने अप्ठयारो नै हो

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०७६, ०९ : ३७
कस–कसका घेराबन्दीमा छन् त प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टीभित्रका आफ्नै ‘चतुर’ समुहको घेराबन्दीमा परेका छन् । पार्टी र जनताका बीचमा एक पछि अर्काे आलोचनाको शिकार बनिरहेका ओलीको विश्वासपात्रहरु एक पछि अर्काे विवादमा तानिन थालेपछि उनी थप अप्ठयारोमा परेका छन् । उनको सचिवालय देखि उनले विश्वास गरेका मन्त्रीहरुसम्म कोही पनि पार्टी नेताप्रति उदार छैनन् भन्ने यस अगाडी नै केही घटनाक्रमले पुष्टि गरिसकेको छ । त्यसमाथी ओलीका तिनै विश्वासपात्र भनिनेहरु अहिले विविध कमिसन काण्डमा जोडिन पुगेपछि ओलीले नाम दिएको भष्टाचार विरोधी अभियानमै ‘.....लाई भन्दा देख्नेलाई लाज’ भने जस्तै भएको छ ।

ओलीका विश्वासपात्र मध्येका एक गोकुल बाँस्कोटा ७० करोड कमिसन काण्डमा मुछिएर अहिले सरकारबाटै बर्हिगमनमा परेका छन् । बाँस्कोटा ओलीका यति विश्वासपात्र नेता थिए की उनले तीन दिन अगाडी मात्रै काभ्रेको धुलिखेलमा गएर बाँस्कोटालाई गरेको प्रसंसावाटै थाहा लाग्छ । ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो, प्रतिभा जन्माउने जिल्ला हो, यो कुरा क्रमशः प्रकट हुँदै गएको छ,’ प्रधानमन्त्री ओलीले त्यहाँ भनेका थिए, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्काेतिर अरू सबै जस्तो देखिएको छ । सरकारको बिरोध गर्नुप¥यो भने गोकुल बाँस्कोटातिर हेरेर चुप लाग्छन् ।’ बाँस्कोटालाई ओलीले पहिलो पटक सांसद निर्वाचित हुने बित्तिकै राज्यमन्त्री हुदै फुल मन्त्री र पछिल्लो पटक उपेन्द्र यादव सरकारबाट बाहिरिए लगत्तै थप मन्त्रालयसम्मको जिम्मा दिएर शक्तिशाली बनाएका थिए ।

अनुदार छविका र निक्कै खरो रुपमा उत्रन सक्ने स्वभावका बाँस्कोटा पार्टीभित्रकै अन्य इतर खेमाका नेताहरुलाई अगाडी बढ्न दिनु हुदैन भन्ने लबिंगका नेता हुन् । ओलीको निजी सचिवालय देखि क्याबिनेटसम्म यस्ता नेताहरुको घेराबन्दी छ की, खास मोडमा उनका विश्वासपात्रहरुले ओलीलाई दाँयाबायाँ हलचल सम्म गर्न दिदैनन् । बालुवाटारभित्रै प्रधानमन्त्रीलाई घेरेर बाहिरी सम्र्पकबाट ‘अघोषित बन्धक’ जस्तै बनाएर राखेका छन् ।

ओली पनि तिनै कोटरीका कुरामा रमाएर मैमत्त ढंगले बसेका छन् । पार्टी निर्णय गराउने, संस्थागत निर्णयमा सरकारका कामलाई अगाडी बढाउने भन्दा ओली पनि आफ्नै पाराले एकलौटी चलिरहेका छन् । ओलीले राजनीतिक नियुक्ति देखि कतिपय काम गर्दा पार्टीसँग सल्लाह नगर्ने, पार्टीभित्र पनि आफ्ना गुट त्यसमा पनि झापाकै ब्यक्तीलाई खोज्ने प्रवृत्तिले ओली खेमाभित्रै पनि ओलीसँग चिढिन पुग्ने नेताहरु बढि देखिन थालेका छन् । आफ्नै गुटभित्रका पनि कतिपय नेताहरुलाई प्रधानमन्त्री ओलीसँगको सम्वन्धमा व्रेक लगाईदिने र आफुहरुमार्फत मात्र ओलीसम्म पुग्ने बाटो मन्त्री बाँस्कोटा देखि उनका सचिवालयका नेताहरुले बनाएका थिए ।

बाँस्कोटा त ओलीका विश्वासपात्रका एउटा उदाहरण मात्र हुन् ।
जो छिट्टै जसरी राजनीतिमा उदाए, त्यसैगरी २४ घण्टामै राजनीतिक क्यारियर डुबाउने गरी बर्हिगमनमा परे । बाँस्कोटाको कमिसन काण्डमा प्रधानमन्त्रीकै पनि संग्लनताको चर्चा प्रतिपक्ष काँग्रेसले गरिरहेको छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उसको मत छ । प्रधानमन्त्रीका विश्वासपात्रले प्रधानमन्त्रीको निर्देशन बिना ७० करोड सम्मको यो कमिसन काण्डमा डिल गर्ने नसक्ने काँग्रेस नेताहरुको बुझाई देखिन्छ ।

ओलीका अर्का विश्वास पात्र हुन् – प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल । उनले सिंहदरबारका ‘डाडु पन्यु’ आफ्नै हातमा लिएर रिमाल राज्य चलाईरहेका छन् । रिमालको कार्यशैली देशकै छायाँ ‘शासक’ का रुपमा देखिन्छन् । उनले चाहेका ब्यक्तिले मात्र प्रधानमन्त्रीसँग भेट गर्न पाउँछन, नचाहेकाले जतिसुकै महत्वपूर्ण काम र छलफल भएपनि प्रधानमन्त्रीसँग भेट पाउदैनन् ।
मन्त्रीहरुका ब्रिफिङ आफै सुन्ने, मुख्यसचिव, सचिवसम्मलाई आफै निर्देशन दिने र ब्रिफिङ लिने काम उनको दैनिकीभित्र नै पर्छन् । कतिपय ठेक्कापट्टाका काममा समेत उनको हालीमुहाली प्रधानमन्त्रीकै छेउमा बसेर हुने गर्छन् । उनी पनि पार्टीभित्रका अनुदार नेताका रुपमा चिनिन्छिन् । उनी पनि बेलाबेला कर्मचारी सरुवा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका ठेक्कापट्टा जस्ता आर्थिक विषयमा विवादमा तानिन खोजेका छन् ।

प्रधानमन्त्रीलाई जनताको मनको इन्डेक्समा होइन विश्वका अनेकथरी इन्डेक्स देखाएर सरकार सफल रहेको स्तुती गान तयार पार्न उनी लागिपरेका छन् । तथ्य तथ्यांकमा बढी खेल्न रुचाउने रिमालको कारण नै प्रधानमन्त्री दिन प्रतिदिन बालुवाटारबाटै आलोचित बनिरहेका छन् ।

उनले पार्टीभित्रका ओली खेमाकै नेताहरुलाई पनि प्रधानमन्त्रीसँगको भेटघाटमा कैची लगाएका कारण ओलीसँग अहिले उनकै कतिपय निकट नेताहरु असन्तुष्ट बन्न थालेका छन् । बेलाबखत सामाजिक सन्जालमा विवादास्पद अभिब्यक्ति दिएर विवादमा पनि तानिनेमा पर्छन् रिमाल । कहिले पार्टी भित्रका फरक मत राख्ने नेताहरुलाई छौडा भन्ने देखि सामान्य भन्दा पनि सामान्य विषयमा पनि तुरुन्तै प्रतिक्रिया दिने गरेका कारण रिमालको बालुवाटारबाट अनेक धन्दा चल्ने गरेको ओली निकट नेताहरुकै टिप्पणी सुनिन्छ ।  

ओलीका अर्का पात्रमा थपिएका छन्, सूर्य थापा । खासमा इश्वर पोखरेल निकट नेता थापालाई प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । थापा खासमा ओलीका कारण भन्दा पनि आफु बोल्दा आलोचित धेरै हुन थालेपछि प्रमुख सल्लाहकार रिमालले आफ्नो बोलीमा कन्ट्रोल गर्ने र थापालाई अगाडी सारेर खरो आलोचनामा उत्रनका लागि प्रेस सल्लाहकारमा नियुक्तिका लागि बालुवाटार प्रवेश गराएका थिए ।
थापा पार्टी नेताहरुलाई नै चुनावमा अन्र्तघात गरेर हराउन भूमिका खेल्ने नेतामा चिनिन्छन् । उनको स्वभाव पार्टीभित्र मन नपरेका नेताहरुमाथी सिधै जाइलाग्ने खालको छ । वामदेव गौतमलाई चनुावमा हराउन काठमाडौंमै बसेर अन्र्तघातमा सामेल भएको आरोप उनीमाथी स्यवं गौतमले लगाईरहेका छन् ।

गौतमसँग उनको सम्बन्ध राम्रो छैन् । त्यस्तै भीम रावलसँग पनि उनको सम्बन्ध राम्रो छैन् । केही समय अगाडी सम्म त यी दुई नेताका बीचमा जुहारी नै चल्ने गरेको थियो । पछिल्लो पटक रुकुमको चौरजहारीमा पार्टी निकट पत्रकारको कर्णाली प्रदेशस्तरीय भेलामा उनले नेकपाभित्र लोकप्रिय बन्दै जान थालेका नेता जर्नादन शर्मा प्रभाकरसँग पनि बाझाबाझमै उत्रिएका थिए । खासगरी पूर्व माओवादीको बलिदानीपूर्ण संर्घष र इतिहासप्रति अनुदार थापा माओवादी आन्दोलनवाट प्राप्त उपलब्धीकै जगमा बसेर उपलब्धी अस्वीकार गर्ने नेता हुन् । उनी माओवादी जनयुद्धको कटु आलोचकका रुपमा मात्र छैनन, एमाले माओवादी बीच भएको एकताको समेत विरोधीका रुपमा चित्रित हुदै आईरहेका छन् । उनको बोली, स्वभावले उनी एकता विरोधीका रुपमा देखिन्छन् ।

प्रधानमन्त्रीले बाँस्कोटा, रिमाल र थापा जस्ता नेतालाई आफनो वरिपरि राखेर अन्यलाई टाढा बनाउदा उनी अप्ठयारोमा पर्दै जान थालेका छन् । अर्का नेता छन, डा राजन भटटराई । उनी पनि अनुदार स्वभावका नेता हुन् । उनलाई प्रधानमन्त्रीले परराष्ट्र सल्लाहकारका रुपमा नियुक्त गरेर राखेका छन् । उनको भूमिका पनि पार्टी नेताहरुका बीचको सम्बन्धमा दरार पैदा गराउने र प्रधानमन्त्रीलाई खोपीको देवता बनाउने काममै बढी केन्द्रीत देखिन्छ ।

प्रधानमन्त्री ओली नजिकका भनिएका र प्रधानमन्त्रीले समेत विश्वास गरिरहेका यीनै पात्रहरुका कारण ओलीका नाममा थालेको कमाउ धन्दाका कारण ओली दिन प्रतिदिन अप्ठयारोमा पर्दै जान थालेको प्रष्टै देखिन्छ ।

यतिसम्मकी सूर्य थापा भन्दा अगाडी प्रधानमन्त्रीका प्रेस सल्लाहकार भई काम गरेका डा. कुन्दन अर्यालले सामाजिक सन्जालमा लेखेको एउटा स्टाटसले ओलीको नियतलाई झल्काउने विश्लेषण अहिले पार्टीभित्र हुन थालेको छ ।

गोकुलको कमिसन काण्ड बाहिरिएपछि उनले सामाजिक सन्जालमा लेखेका थिए ,–‘बन्द कोठाका अनियमितता र जालसाजी घामका उज्यालोमा ल्याउने सूचनाको निर्वाध, निर्भय र निरन्तरताको प्रवाहले नै हो । धन्य यो देश यस मामिलामा गरिब छैन् । प्रम ज्यूले सबैलाई विश्वास गर्नुभयो, अब तपाईले आफ्नै वरिपरि साच्चै माइक्रोस्कोपियो अर्बजरभेसन गर्नुपर्ला ।’