केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी

सफल खबर संवाददाता

विहीबार, २१ जेठ २०८३, ०९ : ३८
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी

काठमाडौं । नेकपा एमालेले आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने गरी चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव तयार गर्न कार्यदल गठन गरेको छ। तर पार्टी सचिवालय र उक्त कार्यदलको संरचना हेर्दा अध्यक्ष केपी शर्मा ओली स्पष्ट रूपमा अल्पमतमा देखिएका छन्।

जेठको पहिलो साता बसेको सचिवालय बैठकले पनि पार्टीभित्र नेतृत्व, संगठन र भविष्यको दिशाबारे गम्भीर बहस सुरु भएको संकेत दिएको थियो। तर त्यसका बाबजुद ओलीको व्यवहार र अभिव्यक्तिमा कुनै परिवर्तन देखिएको छैन। बरु, बुधबार पार्टी कार्यशालामा दिएको उनको अभिव्यक्तिले उनी अझै नेतृत्व छाड्ने मनस्थितिमा नरहेको सन्देश दिएको छ।

गत वर्षको जेनजी आन्दोलनपछि सरकारबाट बाहिरिनुपरेको र फागुन २१ को निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा बेहोरेको अवस्थामा धेरै नेताले समीक्षा र पुनर्गठनको आवश्यकता औंल्याइरहेका छन्। तर ओलीले भने त्यसलाई स्वीकार गर्नेभन्दा आफ्नो नेतृत्वको बचाउमै जोड दिईरहेका छन् । पार्टी पदाधिकारीमध्ये उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत ओलीका बलिया समर्थकका रूपमा देखिएका छन्। अन्य नेताहरू खुलेर विरोधमा नउत्रिए पनि वर्तमान नेतृत्वप्रति पूर्ण सन्तुष्ट देखिँदैनन्। स्रोतका अनुसार सचिवालयका बहुमत सदस्य तथा बादल नेतृत्वको १५ सदस्यीय कार्यदलका अधिकांश सदस्यसमेत अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पक्षमा छन्। तर ओली भने नेतृत्व छाड्ने कुनै संकेत दिन तयार देखिएका छैनन्।

पछिल्लो समय भक्तपुरको गुन्डुस्थित निवासमा ओलीसँग हुने राजनीतिक छलफलमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलभन्दा बादल र महेश बस्नेत बढी सक्रिय देखिन्छन्। ओलीले पनि महत्वपूर्ण राजनीतिक छलफल यिनै नेताहरूसँग केन्द्रित गर्न थालेको स्रोतको दाबी छ।
यही पृष्ठभूमिमा बुधबार पार्टी कार्यशालामा ओलीले दिएको अभिव्यक्तिले एमालेभित्र फेरि नयाँ तरंग सिर्जना गरेको छ। ‘मैले बीचमै झोला फ्याँकेर अलपत्र छोडेर हिँड्ने हो कि भन्ने आशंका मनमा नलिनुहोला,’ ओलीले कार्यशालामा भने, ‘पार्टीलाई सफलतामा पुर्‍याएर मात्र विश्राम लिनेछु।’उनको यो भनाइलाई आत्मविश्वासको अभिव्यक्ति मात्र नभई पार्टीभित्र उठिरहेको नेतृत्व हस्तान्तरणको बहसप्रतिको प्रत्यक्ष जवाफका रूपमा पनि हेरिएको छ।

ओलीले आफ्नो स्वास्थ्यबारे उठ्ने प्रश्नलाई पनि राजनीतिक सन्देशसँग जोड्दै भने, ‘मर्ने छाँट त देखिँदैन बरु, म स्वस्थ छु।’ ओलीले झोला छोडेर नहिड्ने र आफु स्वस्थ्य रहेको सन्देश दिएरै सितिमिति नेतृत्व नछोडने प्रष्ट सन्देश पार्टीमा ब्यापक पूर्नगठनको माग गर्नेहरुलाई जवाफ दिएका छन् । ७५ वर्ष नाघिसकेका ओलीले स्वास्थ्यसम्बन्धी चिन्तालाई खारेज गर्न खोजे पनि एमालेभित्र उमेर, उत्तराधिकार र नेतृत्व हस्तान्तरणको बहस भने रोकिएको छैन। पार्टीभित्रका एकथरी नेताहरूको बुझाइमा पछिल्ला चुनावी धक्काको कारण केवल संगठनात्मक कमजोरी मात्र होइन, नेतृत्वको अत्यधिक व्यक्तिकेन्द्रीकरण पनि हो। अध्यक्ष ओलीको अहंम र हठ पनि हो । 

यही कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको ढंगले अघि बढ्न नसक्ने भन्दै संगठनात्मक पुनर्गठन आवश्यक रहेको बताएका थिए। लामो समयदेखि ओलीका निकट सहयोगी मानिएका पौडेलको यो अभिव्यक्तिलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। तर ओलीले आफ्नो सम्बोधनमा त्यस्ता धारणा अस्वीकार गरे। उनले पार्टीभित्र ‘आत्मभर्त्सना’ गर्ने प्रवृत्ति बढेको भन्दै आफ्नै नेतृत्वलाई दोष दिएर समाधान ननिस्कने तर्क गरे।

‘शिर काटेर टेबुलमा राखेपछि पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले पाल्नु हुँदैन,’ ओलीले पौडेललाई त्यही मञ्चबाटै जवाफ फर्काउँदै भने। ओलीको यो अभिव्यक्तिलाई नेतृत्व परिवर्तनको पक्षमा देखिएका नेताहरूप्रति लक्षित चेतावनीका रूपमा एमालेभित्र व्याख्या गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तीव्र बन्दै गइरहेका बेला ओलीले दिएको यो सन्देशले एमालेभित्रको आन्तरिक राजनीतिक बहसलाई अझ पेचिलो बनाएको छ।

प्रतिक्रिया दिनुहोस