‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली

सफल खबर संवाददाता

शुक्रबार, १८ बैशाख २०८३, १३ : ०४
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा झनै सान्दर्भिक रहेको बताएका छन्।

‘आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो,’ उनले लेखेका छन्, ‘यसै दिन सिद्धार्थ गौतमले बोध प्राप्त गर्नुभयो र २५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो।’

ओलीले नेपालभित्र मात्र नभई संसारका सबै देशहरूबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम होस् भन्ने कामनासमेत गरेका छन्।

उनले यस अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने शुभकामना दिएका छन् ।