ओली–नेपालबीच बालुवाटारमा फेरि गोप्य छलफल

माधव नेपाल फकाउने ओलीको अर्काे प्रयास, ओली नेपालबीच तीन घण्टा एक्लाएक्लै वार्ता

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, ०८ : ५५
ओली–नेपालबीच बालुवाटारमा फेरि गोप्य छलफल

काठमाडौं । कुनै समय थियो–प्रधानमन्त्री केपी ओलीलाई पार्टीका वरिष्ठ नेता माधव नेपालको नाम सुन्दा पनि दिक्क लाग्थ्यो । आफु पार्टी नेतृत्वमा आउनु अगाडी नै  १५ वर्ष लगातार पार्टी ‘महासचिव’ सम्हालेका नेपालको कार्यकालभरी ओलीले उनलाई ‘घेराबन्दी’ गर्न मदन भण्डारी फाउन्डेसनका नाममा अनेक तिकडमवाजी गरे । 

ब्यक्तिगत इगो यी दुई नेताका वीचमा यत्ति गढेको थियो की, गत भदौं ५ मा पार्टी सचिवालय बैठकमा चर्काचर्की नै प¥यो । सिंगापुर स्वास्थ्य उपचारका लागि जान लागेका प्रधानमन्त्रीलाई वरिष्ठ नेता नेपालले स्वास्थ्य लाभका लागि गरेको कामना समेत ओलीले अश्वीकार गरिदिए । दुई नेताको तितो सम्बन्ध त्यक्तिमा मात्र सिमित रहेन् । पार्टी एकताका क्रममा तिनै ओलीले झलनाथ खनाल भन्दा वरियतामा अगाडी राखेका नेपाललाई पछि आफैंले वरियतामा झार्ने काम समेत गरिदिए । यसबाट यी दुई नेताका बीचमा सम्बन्ध टाढिदंै गईरहेको थियो ।

तर जब पार्टीभित्र ओली अप्ठयारोमा पर्दै जान थाले, उनले भने अनुसार सरकार र पार्टीमा उनको एक छत्र राज चल्ने अवस्थाको अन्त्य हुदै जान थाल्यो, उनलाई अहिले वरिष्ठ नेता नेपाल फकाउनु पर्ने अवस्था आईलागेको छ । उनले अहिले नेपाललाई बालुवाटारमा बोलाएर सम्बन्ध सुधारका लागि अनेकन प्रयास गर्न थालेका छन् । गत कात्तिक २६ मा पहिलो पटक बिग्रेको सम्वन्ध सुधार्न नेपाललाई ओलीले बालुवाटारमा बोलाएर लञ्च सहित मिटिङ गरेका थिए ।

गत पुस २३ गते उपाध्यक्ष वामदेव गौतमको निवासमा ओली इतर बहुमत नेताहरुको भेलापछि भने ओली पार्टीमा अप्ठयारोमा परेका छन् । सजिलो हुँदा प्रतिस्पर्धी नेताहरुलाई भित्तामा अचेटन प्रयास गर्ने र अप्ठयारो पर्दा तिनै नेतालाई अनेकन आश्वासन बाँडेर आफु अनुकुल बनाउन खोज्ने ओलीको पूरानै कार्यशैली हो । अहिले उनी त्यही नीति अनुसार, तत्कालिन पूर्व एमालेका वरिष्ठ नेताहरुलाई आफु अनुकुल बनाउने अनेकन प्रयासमा जुटेका छन् ।

त्यसक्रममा उनले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल मात्र होइन, उपाध्यक्ष वामदेव गौतमसम्मलाई पनि एक्लाएक्लै भेटेर आफु इतरमा बन्दै गएको पार्टीभित्रको गठबन्धन भत्काउने प्रयासमा छन् ।  सोमबार मात्रै फेरि उनले वरिष्ठ नेता माधव नेपालसँग एक्लाएक्लै छलफल गरेका छन् । पछिल्लो चरण नेता नेपाल र अर्का अध्यक्ष प्रचण्डका बीचमा बढ्न थालेको हिमचिम बुझेका प्रधानमन्त्री ओलीले त्यो सम्बन्धलाई तोड्न अनेकन कोसिस जारी राखेका छन् ।

पार्टी केन्द्रीय समिति बैठक अगाडी मात्रै नेपाललाई आफ्नै निवासमा बोलाएर नेपालले भेटवार्ता गरेका थिए । कहिले बालुवाटारमै सारंगी रेट्न लगाउने कहिले लामो भेटघाट छ, आउनु भन्दै सन्देश पठाउने गरी नेपाललाई आफुसँग नजिक ल्याउने प्रयासमा ओली अहिले जुटेका छन् । उनले सोमबार बेलुकी पनि नेपाललाई सोही प्रयोजनका लागि बालुवाटार निम्ताएका थिए । नेपालले पनि बालुवाटारबाट तारन्तार भेट्न निम्तो आउन थालेपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग सम्वाद गरेर मात्र वालुवाटार पुगेका थिए ।

अध्यक्ष प्रचण्डसँग वानेश्वरस्थित होटल अर्यालमा भेट गरेर मात्र नेता नेपाल साँझ बालुवाटार पुगेका थिए । ओलीले भैंसेपाटी गठबन्धनका नेताहरुका बीचमा बनेको मोर्चाबन्दी भत्काउन गरेको प्रयासले अझै सफलता  पाउन सकेको छैन । पार्टी सचिवालय, स्थायी समिति देखि केन्द्रीय समिति सबैतिर ओली समुह अहिले कमजोर छन् । सोमबार बेलुकी नेपालसँग ओलीले आफुहरुको मिलनले मात्र पार्टी बलियो हुने भन्दै त्यसका लागि मिलेर काम गर्न आफु तयार रहेको सन्देश प्रवाह गरेको नेपाल निकट एक नेताले वताए ।

तर नेपालले आफु को सँग सम्बन्ध नजिक हुने र दुरी बढ्ने कुरा नेताहरुको कार्यशैलीका कारण मात्र सम्वभ हुने बताएको स्रोतले बतायो । ओलीले सरकारको नेतृत्व सम्हालेको दुई वर्षमै जन अपेक्षित काम गर्न नसक्दा बढेको आलोचना, पार्टीमा उनले चाहे अनुसार निर्णय गराउन सक्ने पकड गुम्दै जान थालेपछि ओली आफनो समुह बलियो बनाउने अभियानमा जुटेका छन् ।

त्यसका लागि उनले झलनाथ खनाललाई अबको राष्ट्रपति, वामदेव गौतमलाई अहिले आफ्ैले उपाध्यक्ष बनाएको देखि माधव नेपालसम्मलाई महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन बाँडन थालेका छन् ।