‘सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक’

रासस

बुधबार, २९ माघ २०७६, २० : ४५
‘सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक’

फाईल फोटो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नका लागि सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको औँल्याउनुभएको छ । सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले लगानी र अनुभव दुबैमा सहकार्य हुनुपर्ने बताउनुभयो । 

उहाँले भौतिक पूर्वाधार छिटो र गुणस्तरीय नहुँदासम्म राष्ट्रिय आकाङ्क्षा पूरा नहुने पनि बताउनुभयो । सरकारले देश धनी बनाएर जनतालाई सुखी बनाउन कृषि, उद्योग, पर्यटन र पूर्वाधालाई ध्यान दिइरहेको उहाँको भनाइ छ । “सिमेन्टको उत्पादन बढेपनि अझै पनि गुणस्तरिय उत्पादन नभएको टिप्पणी आइरहेको छ,” उपप्रधानमन्त्री  पोखरेलले भन्नुभयो । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभित्र सिमेन्टको उत्पादन बढिरहेकाले त्यसको खपत बढाउन सडक निर्माणमा प्रयोगको सम्भावना रहेको बताउनुभयो । कङ्क्रिट सडक निर्माण गर्दा हुने फाइदा र बेफाइदाका बारेमा विस्तृत रुपमा अध्ययन गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ । पहिले सिमेन्ट चाहिँदा केही समय पहिले नै ‘बुकिङ’ गर्नुपर्ने अवस्थाबाट अहिले आत्मनिर्भरको अवस्थामा आउनु सकारात्मक कुरा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसरी उत्पादन बढिरहने हो भने हामी निर्यात गर्ने अवस्थामा पुग्नेछौँ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताउनुभयो । समृद्धिका लागि विकास आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो, “पूर्वाधारको विकाससँगै सिमेन्टको प्रयोग बढ्दै जानेछ ।”

प्रधानमन्त्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले कुनै पनि क्षेत्रमा लगानी गर्नु पहिले व्यवसायीले त्यस क्षेत्रमा हुनसक्ने चुनौतीका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“समस्या आउनासाथ सरकार खोज्ने प्रवृति सही होइन ।”

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले हाल निर्माण भइरहेको प्रविधिबाट कङ्क्रिटबाट सडक निर्माण गर्दा हुने फाइदा बुझाउन नमूना परीक्षण गर्नुपर्ने बताउनुभयो । हाल पुलहरुमा सिमेन्टको प्रयोग भइरहेकामा आगामी दिनमा सडकमा समेत बढाउन सकिने उहाँको भनाइ छ ।