नेकपा केन्द्रीय कमिटी बैठक :  समाजवादमा जान सुझाव

रासस

शनिबार, १८ माघ २०७६, १९ : ३४
नेकपा केन्द्रीय कमिटी बैठक :  समाजवादमा जान सुझाव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव दिएको छ ।  राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो प्रतिवेदन पेश गर्र्दै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दिएको छ । 

ती समूहले  समाजको चरित्र, व्याख्या विश्लेषण गरी नेपाली नमूनाको समाजवाद निर्माण गर्नुपर्ने  मुख्य सुझाव दिएका छन् । समूहका ५ का नेता ठाकुर गैरे नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार गर्न सुझाव दिनुभयो । समूह १५ का नेता हिमाल शर्माले  समाजवादतर्फ लैजान शिक्षा र स्वास्थ्यबाट शुरुआत गर्नुपर्ने बताउनुभयो। उहाँले आफ्नो प्रतिवेदनमा शिक्षा र स्वास्थ्यलाई व्यापारको विषयवस्तु बनाउन नहुने सुझाव दिएको जानकारी दिनुभयो ।

 “पार्टीका नेताले शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् । त्यो लगानी एक वर्षभित्र फिर्ता आउनुपर्दछ”, उहाँले भन्नुभयो, “यही आउनुहुन्न भने उहाँ केन्द्रीय सदस्यबाट हट्नुप¥यो । कि त शिक्षा र स्वास्थ्यमा व्यापार गर्नु भएन ।  पार्टीका नेता र उच्चपदस्थ कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढ्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । ”

समूह ५ का नेता गैरेले भ्रष्टाचार ठूलो समस्या बनेकाले भ्रष्टाचारीलाई हदैसम्मको कारवाही गर्नुपर्ने व्यवस्था राखेर नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । “घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ पर्नु, नीतिगत भ्रष्टाचार, ठेक्कापट्टा जस्ता गैरराजनीतिक क्रियाकलापमा पार्टीका नेता कार्यकर्ताको नाम जोडिने कुराले ‘सरकारको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नारालाई कमजोर बनाएको छ”, उहाँले भन्नुभयो, “भ्रष्टाचार जघन्य अपराध हो, यस्तो काम गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने मतसमेत प्रकट भएको छ ।”

नेता गैरेले नेकपाका नेता कार्यकर्ताको जीवनशैली, चालचलन, आचारविचार, सरसम्बन्ध पूर्णरूपमा सरल र जनपक्षीय हुने कुरा सुनिश्चित गरिनुपर्ने आफ्नो प्रतिवेदनमा समेट्नुभएको छ । 
 समूह ३ का नेता खिमलाल भट्टराईले  मुलुकमा भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले मुलुकमा सुशासन कायम राख्न भ्रष्टाचार विरोधी अभियान पार्टी र सरकारले संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिङ्गो पार्टी नै परिचालन गरेर मुलुकलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउन अभियानमा सञ्चालन गर्नुपर्दछ ।”  

सरकार र पार्टीबीच समन्वय
नेता भट्टराईले पार्टी नेतृत्व  एकताबद्ध भएर सरकारले गरेका उपलब्धिको प्रचार गर्न लाग्नुपर्ने सुझाव दिनुभयो । समूह १५ का नेता शर्माले पार्टीले नै सरकार चलाउने कुनै पनि महत्वपूर्ण निर्णय लिँदा पार्टी पक्तिसँग सल्लाह गरेर मात्र गर्नुपर्ने भन्दै पार्टीको सहमतिमा राजनीतिक नियुक्तिदेखि विधेयक ल्याउनुपर्ने बताउनुभयो ।

शुक्रबारबाट शुरु भएको अध्यक्षद्वय  ओली र  ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव  पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि १५ वटा समूहले आआफ्नो समूहगत प्रतिवेदन पेश गर्ने कार्य आज सम्पन्न भएको छ । 

समूहका नेताले प्रतिवेदनमाथि टिप्पणी र सुझाव दिँदै समूहको तर्फबाट प्रतिवेदन पेश गरेका हुन् । आज समूह–३ का नेता भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले आ–आफ्नो समूहबाट प्रतिवेदन पेश गर्नुभएको हो । यसैगरी समूह–१ बाट आनन्द पोखरेल, समूह–८ का नेता बिन्दा पाण्डे, समूह–१० का नेता महेश बस्नेत, समूह–११ का नेता राजेन्द्र राई, समूह–१४ का सुरेन्द्रकुमार कार्की र समूह–१५ का नेता शर्माले पनि पेश गर्नुभयो । शुक्रबार समूह–२ बाट कमला रोका, समूह–६ बाट दीनानाथ शर्मा, समूह–१३ का नेता लेखनाथ न्यौपाने र समूह–९ का नेता भगवती चौधरीले आआफ्नो समूहको प्रतिवेदन पेश गर्नुभएको थियो ।

समूहगत प्रतिवेदनमाथि आइतबार पार्टीका शीर्ष नेताले जवाफ दिइने नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यही १५ गतेदेखि शुरु भएको केन्द्रीय कमिटी बैठक आइतबार सकिने कार्यतालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस