कृषिमन्त्रीज्यूको बोल्ने पालो कहिले आउँछ ? सधैँभरि ‘सिक्दैछु’ भनेर सुख पाइएला !

सफल खबर संवाददाता

शनिबार, १८ माघ २०७६, १२ : २८
कृषिमन्त्रीज्यूको बोल्ने पालो कहिले आउँछ ? सधैँभरि ‘सिक्दैछु’ भनेर सुख पाइएला !

काठमाडौं । ‘म सिक्दैछु, बुझ्दैछु बोल्ने समय आउँछ’  कृषिमन्त्री घनश्याम भुसालले पटकपटक भन्ने वाक्य हो यो । 

मन्त्री नहुँदासम्म उनी सरकारको विरोधमा खरोरुपमा उत्रन्थे । भुसालले जनताको जीवनस्तर उकास्ने समाजवादको बाटोमा अघि बढ्नुपर्ने दुईतिहाई बहुमतप्राप्त क्रान्तिकारीहरुको सरकार दलाल पूँजीवादको चंगुलमा फसेको आरोप पनि लगाएका थिए । तर गत मंसिर ४ गते कृषि तथा पशुपंछी विकास मन्त्री नियुक्त भएपछि मन्त्री भुसाल एकाएक मौन रहेका छन् । 
उनले भन्ने गरेका छन्, ‘म सिक्दैछु, समय आएपछि बोल्छु ।’ तर उनको सिकाइ कहिले पूरा हुने हो, बोल्ने बेला कहिले आउने हो, केही पत्तो छैन । 

मन्त्री हुनुअघि नेकपा स्थायी समिति सदस्यसमेत रहेका भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘स्पिरिट’ बिरुद्व बोल्थे भुसाल । जब मन्त्री पद पाएपछि उनको समाजवादको सिद्धान्त कता हरायो ? सरकारको कडा विरोध गर्ने भुसाल अहिले किन मौन छन् ? 

अध्ययनशील, सालीन, समाजवादी चिन्तक, नेकपाभित्रका आशलाग्दा नेता आदि उपमा पाएका भुसाल कृषि मन्त्रालय सम्हालेको झन्डै ३ महिना हुन लाग्यो, तर हालसम्म छेस्को पनि भाँचेका छैनन् । पटकपटक एउटै बोली बोल्छन्, ‘म सिक्दैछु बुझ्दै छु समय आएपछि बोल्छु ।’ उनको समय कहिले आउने हो ? 

आम अनुमान विपरीत कृषि मन्त्री बनेपछि भुसाललाई कसैले आफ्ना कटू आलोचकको मुख थुन्न प्रधानमन्त्री ओलीले भुसाललाई मन्त्री बनाएको भने त कतिले भुसालको लोकप्रिय छवि धमिल्याउन कामको नतिजा नदेखिने कृषि मन्त्रालय भिराइएको भने । कतिले चाहिँ जिम्मेवारी लिएर काम देखाउन र बाहिर बिरोध गर्दै हिँड्न फरक हुन्छ भन्ने सिकाउन भुसाललाई मन्त्री बनाइएको लख काटे ।

मंसिर ४ गते शीतलनिवासमा शपथ खाएर कार्यभार सम्हाल्न सिंहदरबार छिरेपछि कृषिमन्त्री भुसालले आफू सिक्ने क्रममा रहेको र चाँडै नै नयाँ योजना ल्याउने बताएका थिए । तर हालसम्म कुनै छेस्को भाँच्ने योजना उनले ल्याउन सकेका छैनन् । 

मन्त्री भएको पाचौं दिनमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले कृषिमा आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढी सहयोग अपेक्षा गरेको र अमिल्दा कानुनहरु संशोधन गर्ने बताएका थिए, तर पनि उनका ती योजना कहाँ पुगे ? यस विषयमा उनी मौन नै छन् । 

यतिबेला उनले मुख खोलेका छैनन् । खोले पनि म सिक्दैछु भन्नलाई सकभर छुटाउँदैनन् । 

पार्टी र सरकारको चर्को आलोचना गर्दा टपक्क टिपिएर मन्त्री बनेका घनश्याम भुसालले मौनधारण गरेपछि उनी आफैं मन्त्रालयमा हराएको भन्ने चर्चा पनि सुनिन थालेको छ

उनी मन्त्री बनेको ७५ दिन भयो ।  तर छेस्को भाँच्ने कामसमेत गरेका छैनन् उनले ।  १४ माघमा भुसालको निम्तो पाएर मन्त्रालय पुगेका कृषि बिटका करिब दुई दर्जन पत्रकारले लेख्नलाई गतिलै विषय पाइने अपेक्षा गरेका थिए । तर, मन्त्रीले सुरुमै आफू बोल्न होइन, कृषि क्षेत्र सुधारका लागि नीतिगत व्यवहारिक सुझाव माग्न कृषि बीटका पत्रकारलाई बोलाए । 

पत्रकारको एक(एक सुझाव दुई घण्टासम्म आफैं डायरीमा टिपेका मन्त्री भुसालले न कुनै योजना सुनाए, न त दुई महिनाको प्रगतिबारे बताए ।

हृयाचरी व्यवसायीहरुले ब्रोइलर कुखुराको मासु र अण्डाको भाउ बढाउन जिउँदो चल्ला नष्ट गर्ने अभियान चलाउँदा मन्त्री भुसाल केही बोलेनन् । 

प्याजको भाउले सगरमाथाको उचाइ नाघ्दा पनि उनी मौन रहे ।

लामो समयदेखिको भुक्तानी नपाएका उखु किसानहरुले राजधानीमै आएर माइतीघरबाट आफ्नो पीडा बताउँदा पनि उनको मौनधारण कायमै रहेको थियो । 

गरिमा धानको नक्कली बिउबाट पिडीत कृषकहरुको पिडाबारे पनि उनले केही बोलेनन् । 

भुसाल मन्त्री भएपछि धान र उखुको सर्मथन मूल्य तोकियो । उखुको बक्यौता माग्दै राजधानी आएका किसान र उद्योगीबीच बार्ता पनि भयो ।

तर, यी सबै विषयमा मन्त्री भुसाल केही बोलेनन् । मन्त्री भुषालज्यू कहिले बोल्ने ? कहिलेसम्म सिकिरहने, अब पनि म सिक्दैछु भनेर सुख पाइन्छ ?

प्रतिक्रिया दिनुहोस