काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टीमाथि अधिनायकवादीको झूठो आरोप लगाएर मुलुकमा पुनःअस्थिरता र अराजकता सिर्जना गर्नेको प्रयास सफल नहुने जनाएको छ ।
काठमाडौँमा आजदेखि शुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यस्त तत्वले विगतमा अस्थिरता र अराजकता मच्चाएर अनुचित लाभ लिँदै आएकाले सरकार र पार्टीविरुद्ध जनतामा भ्रम छर्ने प्रयास गरेको ठहर गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उक्त राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले लामो समयसम्म मुलुकका अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरङ्कुतावादी, परिवर्तन विरोधी र प्रतिक्रियावाली दलाल तत्व आज पनि अन्योल र अस्थिरता सिर्जना गर्न कसरत गरिरहेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “त्यसकारण हामीले उत्पादनशल लगानी र पुनःउत्पादनको प्रक्रियालाई प्रोत्साहित गर्नुपर्छ । समाजको पूँजीवादी चरित्रलाई राष्ट्रिय पूँजीको विकास गर्दै वैज्ञानिक समावजादको दिशामा लाग्नुपर्छ । पार्टी एकतालाई सुदृढ गर्दै माक्र्सवाद लेलिनवादको दर्शन र जनताको जनवादलाई स्कुलिङलाई विस्तार गरेर समृद्धि र विकासको यात्रामा अगाडि बढ्नुपर्छ ।”
प्रतिवेदनमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस ढुलमुले सम्झौतापरस्त र दलाल प्रवृत्तिको भएकाले उसले सिर्जना भ्रम चिर्न प्रभावकारी प्रचार संयन्त्र निर्माणमा जोड दिइएको छ । प्रतिवेदनमा विश्वका ठूला शक्ति राष्ट्रको स्वार्थबाट सचेत हुनुपर्नेमा जोड दिँदै नेपालले राष्ट्रियता र स्वाधीनतालाई केन्द्रमा राखेर वैदेशिक सम्बन्ध विस्तार गरिरहेको पनि उल्लेख गरिएको छ । सरकारले कुनै पनि बाह्य सैनिक गठबन्धन र सैन्य रणनीतिका रुपमा कुनै पनि आर्थिक र राजनीतिक सहयोग नलिनेतर्फ सरकार र पार्टी नेतृत्व स्पष्ट रहेको पनि जनाइएको छ ।
यस्तै पार्टी एकतालाई सुदृढ तथा सरकारका कामलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउन तथा सकारात्मक कामको सकारात्मकरुपमै जनसमुदायमा प्रचार र स्थापित गर्न, नकारात्मक एवं कमीकमजोरीलाई खुलस्तरुपमा स्वीकार गरी सच्याउन प्रतिवेदनले सुझाव प्रस्तुत गरेको छ । पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी अनुशासनहिनरुपमा पार्टी हितविपरीत बोल्नेलाई कारवाहीको दायरामा ल्याउने पनि प्रतिवेदनमा छ ।
एकता महाधिवेशनको मिति प्रस्ताव
पार्टी एकता सुदृढीकण र जनसम्बन्ध विस्तार विशेष योजनाको खाका प्रतिवेदनमा छ भने एकताको राष्ट्रिय महाधिवेशन आगामी २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने उल्लेख छ । त्यसअघि २०७७ भदौदेखि मङ्सिरसम्म प्रदेश र जिल्ला तहको अधिवेशन गर्ने जनाइएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को २०७५ जेठ ३ मा एकता हुँदा दुई वर्षभित्र एकताको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।
सरकारलाई सुझाव
प्रतिवेदनमा पार्टी नेतृत्वको सरकारले विकास, समृद्धि, सुशासन र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा उपलब्धि हासिल गरेको उल्लेख गर्दै संविधानअनुसार तीन तहका सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन समन्वय बढाउनुपर्ने, राजनीतिक नियुक्ति गर्दा समावेशीतालाई ध्यान दिनुपर्ने र जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी भ्रष्टाचार अन्त्य गरी सुशासन दिनुपर्ने विषय छ । बैठकको शुरुमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुई वर्षका बीचमा सरकारले गरेका उपलब्धि र ‘समृद्ध नेपाल सुखी नेपाली’ को सङ्कल्पप्रतिको साझा बुझाइ निर्माणबारे सम्बोधन गर्नुभएको थियो ।
बिहीबार समूहगत छलफल
बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूह छलफल गर्न वर्णानुक्रमअनुसार १५ वटा समूह विभाजन गरिएको छ । यही माघ १६ गते समूहगत छलफलका लागि विभिन्न समूह पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराही, जनसङ्गठनको कार्यालय पेरिसडाँडा र राष्ट्रियसभागृहमा पुगी समूह छलफलमा भाग लिनेछन् । प्रत्येक समूहमा दुई÷दुई जना स्थायी कमिटीका सदस्य रहनेछन् ।
समूहका टोली नेताले २० मिनेटमा लिखित प्रतिवेदन पेस गर्ने छन् भने माघ १७ र १८ गते समूह नेताको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत तथा केन्द्रीय निकायका अध्यक्षले विचार व्यक्त गर्नसक्ने बैठकको कार्यविधि तय गरिएको छ । माघ १९ गते समूह छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने, स्थायी कमिटी र सचिवालयका निर्णय छलफल र अनुमोदन तथा समसामयिक प्रस्ताव छलफल र पारित गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १५ माघ २०७६, २१ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने