शिवमायाँको अडान नेकपाका लागि पिलो : के भन्छन् महिला अधिकारकर्मी ?

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, २० : ०४
शिवमायाँको अडान नेकपाका लागि पिलो : के भन्छन् महिला अधिकारकर्मी ?

काठमाडौँ । उपसभामुख शिवमायाँ तुम्बाहाङ्फेले नेकपा सचिवालयको निर्णय नमान्दा सभामुख निर्वाचन प्रक्रिया नै अबरुद्ध छ । पटक पटक संसद स्थगित हुँदै पनि आएको छ । नेकपालाई अहिले शिवमायाँ तुम्बाहाङ्फेको अडान निकै कडा पिलो बन्न पुगेको छ ।

नेकपाका दुई अध्यक्ष उनलाई जसरी पनि राजीनामा गराउने प्रयास गरिरहेका छन् । तर उनी भने टसका मस भएर बसिरहेकी छिन् । महिला अधिकारकर्मीहरुहरु उनलाई ढाडस दिँदै छन् ।  उपसभामुख तुम्बाहाङ्फेको अडानप्रति महिला अधिकारकर्मीले प्रशंसा पनि गरे । आज काठमाडौँमा भेला भएका उनीहरुले अडान कायम राख्न पनि सुझाव दिए । वरिष्ठ अधिवक्ता तथा महिला अधिकारकर्मी मिरा ढुङ्गानाले उनको अडान जायज रहेको र सभामुख बनाउनुपर्नेमा जोड दिईन् । उनले अडान कायम राख्न पनि भनिन् ।

भेलाले जनप्रतिनिधिमुलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएको प्रति गंभिर चासो प्रकट गर्दै बिधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिवेशनमा पास गर्नुपर्ने नागरिकतालगायतका विधेयकहरु अलपत्र परेको अधिकारकर्मीहरुले बताए । 

उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले अहिलेसम्म गर्दै आउनु भएको काममा कतै पनि बिवाद नआएको र उहाँले आफुलाई प्राप्त जिम्मेवारीलाई इमान्दारी र कुशलताकासाथ निर्वाह गर्नु भएको भन्दै प्रशंसा गरिएको थियो । अबको सभामुखमा उहाँलाई उपयुक्त ठानी सबै राजनीतिक दलहरुबाट विवेकपूर्ण निर्णय हुने महिला अधिकारकर्मी सञ्जिता तिमिल्सिनाले आशा व्यक्त गरिन् । 
आज काठमाडौँमा भएको कार्यक्रममा महिला तथा मानव अधिकारकर्मी, कानून ब्यवसायी, पत्रकारलगायत नागरिक समाजका बिभिन्न अन्तर पुस्ता समेट्ने महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । 

भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस