गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट

पत्रपत्रिकाबाट

विहीबार, २४ पुस २०७६, ०७ : २६
गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट

काठमाडौं : सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ।

भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। सहभागी नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन्।

तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली स्वयं र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्। सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन्।

छलफल सभामुख चयन र एमसीसीका विषयमा केन्द्रित भएको स्रोतले जनायो। यसअघि २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा बहुमत सचिवालय सदस्यले झम्सिखेलमा यस्तै गोप्य छलफल गरेका थिए। त्यस बेला ओलीविरुद्ध ध्रुवीकरणका लागि त्यस्तो छलफल भएको भन्दै ओली पक्षले असन्तुष्टि जनाएको थियो। यसपटक भने सचिवालय सदस्य गौतमको निवासमै नेताहरूले गोप्य छलफल गरेका थिए।

वरिष्ठ नेता खनालले पार्टीभित्रको आन्तरिक विषयमा सामान्य छलफल भएको प्रतिक्रिया दिए। ‘पार्टीभित्रका आन्तरिक समस्याका विषयमा सामान्य छलफल भएको हो। सभामुख चयनलगायतका विषयमा छलफल भएको होइन,’ उनले अन्नपूर्णसँग भने।

स्रोतका अनुसार अध्यक्ष दाहालले सभामुख चयनका विषयमा प्रधानमन्त्री ओलीसँग भएका छलफलबारे ब्रिफिङ गरेका थिए। ‘पहिले सभामुख र प्रधानमन्त्री पद भागबन्डा भएको हो। प्रधानमन्त्री आलोपालो गर्दा सभामुख पनि छोड्ने सहमति भएको थियो।

तर प्रधानमन्त्री पूरै कार्यकाल ओलीलाई दिने भन्ने भएपछि सभामुख मैले प्रस्ताव गर्न पाउनुपर्छ,’ दाहालले ओलीसँगको छलफल ब्रिफिङ गर्दै भनेका थिए, ‘सभामुख मैले प्रस्ताव गर्ने हो। तपाईं (ओली) ले सुवास नेम्वाङलाई नै बनाउने अन्य कसैलाई नबनाउने भन्नुहुन्छ भने त्यो ठीक छ। तपाईं प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष बन्नुहोस् म प्रधानमन्त्री बन्छु। मैले त्यसरी कुरा राखेको छु।’

प्रधानमन्त्री ओलीले भने नेम्बाङलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए। ‘योग्य, अनुभवी, सबै हिसाबले उपयुक्त हुने सुवास नेम्वाङ हुन्। नेम्वाङलाई पनि एउटा राम्रो जिम्मेवारी दिन आवश्यक छ। उहाँलाई के जिम्मेवारी दिने ? सबैभन्दा उपयुक्त उहाँका लागि यही जिम्मेवारी हो।

पूर्व एमाले–माओवादी अब नभनौं, नेम्वाङ पनि अब तपाई (दाहाल) कै हुन् भन्ने प्रधानमन्त्रीको तर्क छ’, ओलीलाई उधृत गर्दै दाहालले आफूनिकट नेताहरूलाई सुनाएका थिए। ‘तपाईंले नेम्वाङ मात्रै देख्ने भए प्रधानमन्त्री छोड्नुहोस, नेम्वाङलाई बनाएर जाऔं पुरानो सहमति पनि ख्याल गर्नुपर्छ, मलाई पनि अप्ठ्यारो छ,’ दाहालको अडान सुनाउँदै दाहाल निकट एक स्थायी समिति सदस्यले भने।

गौतम निवासको बैठकपछि पनि दाहाल ओलीलाई भेट्न बालुवाटार गएका थिए। स्रोतका अनुसार त्यसमा पनि उनले पुरानै अडान राखे। ओलीले पनि नेम्वाङको अडान छाडेनन्। 

सभामुख छाड्न दाहालले मागे प्रधानमन्त्री

नेकपामा सभामुख चयन सकसपूर्ण बन्दै गएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन्। यसबारे मंगलबार बेलुकी र बुधबार बिहान बालुवाटारमा भएका छलफल पनि निचोडमा पुग्न सकेनन्।

त्यसअघि सोमबार सिन्धुपाल्चोक ‘रिफ्रेसमेन्ट’ मा जानुअघि दाहालले बालुवाटारमै भेटेर प्रधानमन्त्री ओलीलाई सभामुख छाड्न नसक्ने बताएका थिए। स्रोतका अनुसार दाहालले सभामुख पूर्वएमाले समूहलाई छोड्दा प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रस्ताव गरेको स्रोत बताउँछ।

‘सभामुख छोड्न सकिन्छ, तर त्यसका लागि तपाईं (ओली) ले प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस्, म प्रधानमन्त्री हुन्छु,’ दाहालले ओलीसँग प्रस्ताव गरेका थिए। उनले यो विषयको जानकारी गौतम निवासमा भएको छलफलमा पनि नेताहरूलाई सुनाएको स्रोत बताउँछ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस