‘पुराना विद्युत संरचना सुधारका लागि ठुलो लगानी आवश्यक’ : ऊर्जा मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०८३, १५ : ०९
‘पुराना विद्युत संरचना सुधारका लागि ठुलो लगानी आवश्यक’ : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्तिमा देखिएका समस्या समाधान गर्न सरकारले दीर्घकालीन योजना र पर्याप्त लगानीसहित काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले पुराना तथा कमजोर विद्युत संरचनाका कारण उपभोक्ताले अपेक्षित गुणस्तरीय सेवा पाउन चुनौती देखिएको बताएका हुन् ।

उनका अनुसार पछिल्ला वर्षहरूमा विद्युतको माग निरन्तर बढिरहेको छ । तर, दशकौँअघि निर्माण गरिएका प्रसारण तथा वितरण प्रणालीले बढ्दो माग र भार व्यवस्थापन गर्न नसक्दा विभिन्न क्षेत्रमा आपूर्ति अवरोधको अवस्था सिर्जना भएको हो ।

मन्त्री श्रेष्ठले विद्युत प्रणालीको सुधार र आधुनिकीकरणका लागि ठुलो मात्रामा स्रोत आवश्यक पर्ने उल्लेख गर्दै नेपाल विद्युत प्राधिकरणको आन्तरिक आम्दानीबाट मात्रै सबै सुधारका काम सम्भव नहुने धारणा राखे ।

उनले विद्युत आपूर्तिलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन संरचनागत सुधारलाई प्राथमिकतामा राखेर लगानी विस्तार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस