अमेरिका–इरान द्धन्द्ध

अमेरिकासँग जुध्न इरानसँग शक्ति कति छ ?

अमेरिकी हवाई आक्रमणमा इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरान अमेरिका द्वन्द्व थप पेचिलो बन्दै

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, ११ : १४
अमेरिकासँग जुध्न इरानसँग शक्ति कति छ ?

काठमाडौं । अमेरिकी हवाई आक्रमणमा आफ्ना उच्च सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरानले सन् २०१५ मा भएको अन्र्तराष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने पछिल्लो प्रतिक्रिया दिएको छ ।

इरानका केही ब्यक्तिहरुको समुहले  हिजो आईतबार मात्रै अमेरिकी वेभसाइट ह्याक गरिदिएपछि इरानको परमाणु सम्झौता नमान्ने यो पछिल्लो घोषणा आएको हो । यसले इरान अमेरिका विवाद झन चुलीमा पु¥याईरहेको छ ।

आफ्ना सैन्य नेता मारिएपछि इरानले त्यसको प्रतिशोध लिने सार्वजनिक घोषणा गरिसकेको छ । अमेरिकाले पनि इरानले आफुमाथी आक्रमण गरे ५२ स्थानमा इरानमाथी आक्रमण गर्ने चेतावनी दिएको छ । यही चेतावनी बिच इरान अमेरिका बीचको द्वन्द्व पेचिलो बन्दै जान थालेको छ ।

शक्ति राष्ट्र अमेरिकासँग भिडने तयारीमा रहेको इरान अहिले आफुसँग कति अस्त्र, शस्त्र छ भन्ने बारेमा पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यलमे समाचारहरु निरन्तर प्रकाशित गरिरहेका छन् ।

पछिल्ला दिनमा के भईरहेको छ ? 
इरान अमेरिका बिच तनाव बढिरहेका बेला इराकस्थित अमेरिकी दूताबासमा थप क्षेप्यास्त्र प्रहार भएको समाचार अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले देखाईरहेका छन् । बग्दादस्थित ग्रिन जोन भनिने क्षेत्रमा रहेको उक्त दूतावासलाई लक्षित गर्दै चार पटक ‘अप्रत्यक्ष प्रहार’ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

यद्यपी, त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन् । इरानको समर्थन रहेको कताइब हेज्बुला विद्रोही समूहले शनिबार एउटा वक्तव्य निकाल्दै इराकी सेनालाई इराकस्थित अमेरिकी शिविरहरूबाट आइतबार साँझसम्म कम्तिमा एक हजार मिटर टाढा जान सुझाव दिएको थियो । यसैबीच अमेरकी राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो ट्वीटमा यदि इरानले अमेरिका लक्षित आक्रमण गरे अमेरिकाले त्यसको जवाफ दिने र आफूले आफ्नो उदेश्यबारे अमेरिकी काँग्रेसलाई सूचित गरेको बताएका थिए ।

इरानले भने पछिल्लो मन्त्रीपरिषद्को बैठकपछि सन् २०१५ को परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रर्वधनको सीमालाई नमान्ने जनाएको छ । सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्धन कार्यक्रमलाई सिमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो । इरानले अब सम्झौता अनुसार युरेनियमको भण्डारण र प्रबर्धनका लागि तोकिएको मात्राको उपेक्षा गर्नेछ । यो पछिल्लो इरानको निर्णयले अमेरिकासँग उसले जुध्ने नीति नै अगाडी बढाउन थालेको प्रष्टै संकेत देखाएको छ ।

इरानसँग कति छ सेना ?
इरानमा ५ लाख २३ हजार सेना रहेको बेलायतस्थित इन्टरनेशनल इन्स्ट्च्यिूट फोर स्ट्रटीजिक स्टडीजले जनाएको छ । उक्त संख्यामा इरानी सेनाका साढे तीन लाख र इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) का कम्तीमा डेढ लाख जवान सम्मिलित रहेको उसले जनाएको छ ।
 
आईआरजीसीको जलसेनामा थप २०  हजार सैनिक छन् । जलसेनाले स्ट्रेट अफ हर्मुज भनिने जलक्षेत्रमा गस्ती गर्ने गरेको छ ।  गत वर्ष त्यहाँ तेल बोक्ने विदेशी ध्वजावाहक ट्याङ्करलाई इरानी पक्षले कारबाही गर्दा तनाव उत्पन्न भएको थियो । आन्तरिक विद्रोह दमन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि आईआरजीसीको नियन्त्रण छ । उक्त समूहले हजारौँ सुरक्षाकर्मी खटाउन सक्छ ।

आईआरजीसीको आफ्नै जलसेना र वायुसेना छन् तथा उसले इरानका रणनीतिक अस्त्रसँग सम्बन्धित विषय हेर्छ । इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो । त्यसयता उक्त समूह एउटा महत्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ । सेनामा भन्दा कम जनशक्ति भए पनि आईआरजीसीलाई सबैभन्दा बढी अधिकार भएको सैन्य बल मानिन्छ ।

आईआरजीसी अन्तर्गत रहेको विशेष सैन्य बल ‘कूद्रु स फोर्स’ले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ । झन्डै ५ हजार कूदु्रस फोर्स जनरल सुलेमानीको नेतृत्वमा रहेको थियो । त्यसले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको छ ।

कूदु्रस फोर्स सिरियामा पनि परिचालित भएको थियो । उसले त्यहाँ सिरियाली राष्ट्रपति बशर अलअसदका विश्वासपात्र सैन्य अधिकारी र सरकारविरुद्ध संर्घष गरिरहेका शिया लडाकुहरूलाई परामर्श दिएको बिबिसीले उल्लेख गरेको छ । इराकमा उसले शिया समुदायको बाहुल्य भएको अर्धसैनिक बललाई इस्लामिक स्टेटसँगको संर्घषमा सघाएको थियो । गत वर्ष आईआरजीसीले ब्रिटिश ध्वजावाहक ट्याङ्कर स्टेना इम्पेरोलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

के इरानसँग क्षेप्यास्त्र पनि छ ?
इरानसँग क्षेप्यास्त्र पनि रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । क्षेप्यास्त्र इरानको सैन्य शक्तिको अभिन्न अंग हो । प्रतिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षेप्यास्त्रको ठूलो सामरिक महत्व रहेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।  

अमेरिकाको रक्षा मन्त्रालयको एउटा प्रतिवेदनमा इरानको क्षेप्यास्त्र क्षमतालाई मध्यपूर्वकै सबैभन्दा ठूलो भनेर उल्लेख गरिएको छ । इरानसँग छोटो र मध्यम दूरीका क्षेप्यास्त्रको भण्डार छ । अमेरिकी प्रतिवेदनका अनुसार, इरानले लामो दूरीका अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गर्न अन्तरिक्ष प्रविधिको पनि परीक्षण गरिरहेको छ ।

सन् २०१५ मा अन्य देशसँग गरिएको पारमाणविक सम्झौताका कारण इरानले लामो दूरीको क्षेप्यास्त्रसम्बन्धी कार्यक्रम रोकेको रोयल यूनाइटिड सभिर्सिज इन्स्टिट्यूट (रुसी) ले जनाएको छ । तर सम्झौतामा देखिएको अन्योलका कारण इरानले उक्त कार्यक्रम पछि पुनः थालेको छ । 

इरानसँग अरू अस्त्र पनि छन् ?
इरानसँग अरु अस्त्रहरु पनि रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । वर्षौँदेखि नाकाबन्दी खेपेको भए पनि इरानसँग आधुनिक ड्रोनहरू छन् । इस्लामिक स्टेट समूहसँग सन् २०१६ मा इराकमा संर्घष हुँदा इरानी ड्रोन प्रयोग गरिएको समाचारसंस्थाहरुले उल्लेख गरेका छन् ।

रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूटका अनुसार, इरानले सिरियाबाट आफ्ना अस्त्रयुक्त ड्रोन इजरेली हवाईक्षेत्रमा पनि पठाएको छ । गत वर्ष जुन महिनामा अमेरिकाले जासुसी गर्न उडाएको एउटा ड्रोन इरानले खसालिदिएको थियो । स्ट्रेट अफ हर्मुजमाथि उड्दा उक्त ड्रोनले आफ्नो सीमा उल्लंघन गरेको इरानको दाबी थियो ।
 

प्रतिक्रिया दिनुहोस