भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

एजेन्सी

शुक्रबार, २९ जेठ २०८३, १० : २१
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

एजेन्सी । खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएपछि इरानले अमेरिकाको कडा आलोचना गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भारतीय व्यावसायिक जहाजहरूमाथिको आक्रमणलाई अमेरिकाको ‘हतियारबन्द लुट र समुद्री डकैती’ नीतिको स्पष्ट उदाहरण भएको बताएका छन्।

उनले आक्रमणमा ज्यान गुमाएका भारतीय नाविकका परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै भारत सरकार र भारतीय जनताप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बकाईले अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकाको कथित गैरकानुनी गतिविधिप्रति जवाफदेही बनाउन आग्रह गरेका छन्। उनका अनुसार अमेरिकी कदमले विश्व शान्ति, सुरक्षा तथा समुद्री आवागमनको स्वतन्त्रतामाथि खतरा उत्पन्न गरेको छ।

अमेरिका–इरान तनावका बीच पछिल्ला चार दिनमा भारतीय चालक दल रहेका तीन जहाजमाथि आक्रमण भएको जानकारी सार्वजनिक भएको छ। जुन ८ मा एमटी मारिभेक्स जहाजमाथि आक्रमण हुँदा त्यसमा २४ भारतीय नाविक सवार थिए। उनीहरूलाई पछि सुरक्षित रूपमा उद्धार गरिएको ओमानस्थित भारतीय दूतावासले जनाएको थियो।

त्यसैगरी जुन १० मा एमटी सेटेबेलो जहाजमाथि भएको आक्रमणमा २४ भारतीय चालक दलका सदस्यमध्ये तीन जनाको मृत्यु भएको थियो। बाँकी २१ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ। जुन ११ मा एमटी जलवीर जहाजमाथि पनि आक्रमण भएको सूचना सार्वजनिक भएको छ। उक्त जहाजमा २० भारतीय चालक दलका सदस्य सवार रहेकामा हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।