भरतपुर महानगरको गौरवपूर्ण आयोजनाको अनुगमन, समयमै सम्पन्न गर्न प्रमुख दाहालको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, १८ : ४८
भरतपुर महानगरको गौरवपूर्ण आयोजनाको अनुगमन, समयमै सम्पन्न गर्न प्रमुख दाहालको निर्देशन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको एक दर्जनभन्दा बढी गौरवपूर्ण आयोजनाहरुको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा उहाँले महानगरस्तरीय सम्पूर्ण गौरवपूर्ण आयोजनाहरु समयमै सक्न निर्देशन दिनुभएको छ । अनुगमनमा उहाँले समयमै काम गर्न नसक्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयमै काम नसक्ने निर्माण कम्पनीहरु कारबाहीको दायरामा ल्याइन्छ ।’  

महानगर प्रमुख रेनु दाहालसहितको टोलीले आज एक दर्जनभन्दा बढी आयोजनाहरुको अनुगमन गर्दै कामको मूल्यांकनसमेत गरेको थियो । प्रमुख दाहालको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कुमार घिमिरे, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, आयोजनाका इन्जिनियरहरु, महानगरका प्राविधिक, वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो । 

महानगरका गौरवपूर्ण योजनाहरुमध्ये भरतपुर १६ मा परीक्षण सफल भएको मिनि पानीजहाज, भरतपुर १६ मा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर १९ मा रहेको सुन्दर रानीपोखरी, भरतपुर २७ मा बनिरहेको मुसहर बस्ती निर्माण, अन्तर्राष्ट्रिय स्तरको महानगरी लिंकरोड र रिङरोड, भरतपुर २२ मा निर्माण भइरहेको अम्ब्रेला स्टेट, भरतपुर १३ मा निर्माण सम्पन्न भएको वडा कार्यालय र भरतपुर–६ मा बनिरहेको लक्ष्मीनारायण मन्दिर, भरतपुर २४ मा रहेको सामूहिक तरकारीखेती लगायतका आयोजनाहरुको अनुगमन तथा मूल्यांकन भएको थियो । 

‘राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन भएको छ, सबै गौरवका आयोजनाहरुको तीव्रताका साथ काम भइरहेको पाइयो’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘सघन सहरी विकासका दुई वर्षका योजनाहरुको काम पनि दु्रत गतिमा भइरहेका छन् ।’ उहाँले निर्माण कम्पनीहरुलाई समयमै काम सम्पन्न गर्न कडा निर्देशन दिँदै भन्नुभयो, ‘कुनै समस्या आएदेखि महानगरलाई जानकारी गराउनुहोला, नत्र यो वा त्यो बहानामा काममा सुस्तता ल्याउने र तोकिएको समयमा नसकिने अवस्था आयो भने सम्बन्धित निर्माण कम्पनी नै दोषी ठहरिन्छ ।’

भरतपुर महानगर प्रमुख दाहालले सबै आयोजनाहरुको निर्माणको गति देख्दा कुनै पनि आयोजनाहरु तोकिएको समयमै सकिने आफूलाई लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगरमा विकासले गति लिएको छ, अढाई वर्षमा भएको कामको मूल्यांकन गर्दा पनि विकासको काम तीव्रताका साथ अगाडि बढेको पाइयो, अबको अढाई वर्षको समय पनि अझ तीव्रताका साथ कामलाई अगाडि बढाइन्छ ।’

अनुगमनको टोलीमा रहनुभएका सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कुमार घिमिरेले भु्रणदेखि मृत्युसम्मका आयोजनाहरु भरतपुर महानगरमा रहेका र ती सम्पूर्ण आयोजनाहरु तोकिएको समयमा सकिने बताउनुभयो ।  

‘भरतपुर महानगरका गौरवका ठूलो केही आयोजनाहरु दुई वर्षमा पूरा गर्ने गरी सम्झौता भएका छन्, एक वर्ष सकियो, अब बाँकी एक वर्षमा निर्माणका सम्पूर्ण कामहरु सकिन्छ’ प्रमुख घिमिरेले भन्नुभयो, ‘कुनै दुर्घटना हुन नआए सबै काम तोकिएकै समयमा सकिने मैले अपेक्षा गरेको छु ।’

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरका गौरवपूर्ण आयोजनाहरु अनुगमन भएको र ती आयोजनाहरु समयमै सक्न निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै आयोजनाहरुको प्रगति विवरण हामीले लिएका छौँ, काम दु्रत गतिमा नै भएका छन्, यसलाई निरन्तरता दिन समयमै सक्न कसैलाई पनि म ठूलो चुनौती देख्दिनँ ।’
आयोजना सम्पन्न गर्न आवश्यक परेको खण्डमा महानगरले पनि बजेट उपलव्ध गराउन सक्ने उहाँको भनाइ थियो । 
 

प्रतिक्रिया दिनुहोस