नीति तथा कार्यक्रम

‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, ११ : ३८
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना

चितवन । भरतपुर महानगरपालिकाले कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना अगाडी सारेको छ । नगरप्रमुख रेनु दाहालले आगामी आर्थिक वर्ष २०८२/०८३ को महानगरको नीति तथा कार्यक्रममार्फत त्यस्तो योजना अगाडी सारेकी हुन् ।

नीति कार्यक्रममार्फत महानगरले आगामी वर्षलाई कृषिमा उत्पादन वृद्धि, युवालाई स्वरोजगार, सहकारी सशक्तीकरण, राजस्व सुधार, डिजिटाइजेसन, र सुनिश्चित सेवाप्रवाहको वर्षका रूपमा घोषणा गरेको छ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नारासहित रोजगार र आत्मनिर्भर अर्थतन्त्रको बाटो निर्माण गर्ने पनि महानगरको नीति कार्यक्रममा समेटिएको छ ।

कृषक परिचयपत्र वितरण, बाली बीउ र यान्त्रिक उपकरणमा अनुदान, एक वडा, एक हाट बजार, एग्रो–टुरिजम प्रवद्र्धन, युवा उद्यमशीलता कार्यक्रम, श्रम स्वीकृति सहजीकरण, करदातालाई १०% छुट, उत्कृष्ट करदातालाई सम्मान, राजस्व वृद्धि,  भरतपुर बसपार्क केन्द्रीकृत बनाउने, डिजिटल सिटी योजना अगाडि बढाउने, नगर प्रहरीमार्फत ‘घरघरमा नगर प्रहरी अभियान’ कार्यान्वयन गर्ने जस्ता योजना नीति कार्यक्रममार्फत नगरप्रमुख दाहालले घोषणा गरेकी छिन् ।
‘हामी भरतपुरलाई आत्मनिर्भर, समावेशी र नवाचारमैत्री नगर बनाउने स्पष्ट योजनासहित अघि बढिरहेका छौं,’ नगरप्रमुख दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदैं भनिन् ।“युवा उद्यमशीलता कार्यक्रम” सञ्चालन गरी युवाहरूलाई स्वरोजगार र व्यवसायी बनाइने, श्रम संस्कृतिको विकास गर्न “श्रमको सम्मान, राष्ट्रको अभियान” कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहमा उपलब्ध हुने रोजगारीको अवसरको पहिचान, समस्याको निदान तथा रोजगारीको क्षेत्रमा नवीनतम उपाय
र विधिको पहिचान गर्न निजी क्षेत्रको समेत सहभागितामा रोजगार संवाद मञ्च कार्यक्रम सञ्चालन गरिनुका साथै स्थानीय तहको रोजगार रणनीति तर्जुमा गरिने जस्ता योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।


समग्रमा महानगर प्रमुख दाहालले प्रस्तुत गरेको योजनामा ‘आत्मनिर्भर भरतपुर’ को रोडम्यापका लागि कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजनाका रुपमा अगाडी सारिएको छ । 

प्रतिक्रिया दिनुहोस