थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

रासस

शनिबार, १२ बैशाख २०८३, १३ : ४४
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घर टहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घर टहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

“अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “सुकुमबासीलाई घर टहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उनले जानकारी दिए । 

सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो । 

प्रतिक्रिया दिनुहोस