भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०८२, १३ : ४७
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन

चितवन। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उद्घाटन गरिएको छ । ६ तले आकर्षक भवनको पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।

भवनको भुईँ तलामा इन्टेरियरका कामहरूसमेत सकाएर भवनको उद्घाटन गरिएको नगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । माथिल्लो तलाहरूमा इन्टेरियरका केही काम भने बाँकी छ ।

५३ करोड ३२ लाख ६४ हजारको लागतमा तयार गरिएको भवनमा संघ, प्रदेश र स्थानीय तह (भरतपुर महानगरपालिका) को लगानी छ । संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख रकम खर्च भैसकेको छ ।

महानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख, वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले निर्माण थालेको करिब २ वर्षमा भवन तयार गरिएको बताएका छन् ।

भरतपुर महानगरपालिकाको भवन निर्माणका लागि पर्याप्त जमिन नभएपछि नेपाल नेत्र ज्योती संघले भोगचलन गर्दै आएको १ विगाहा १५ धुर जग्गा सम्झौता गरेर थप गरिएको थियो ।

महानगर प्रमुख दाहालले संघसँग जग्गा लिने काम निकै मेहेनत र दुःखका साथ गरिएको बताइन् । भवनको २०७८ चैत ११ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस