काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने ।
एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो। स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए दुईदेखि चार महिनापछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सकिने डा. काफ्लेको भनाइ छ।
यसअघि गत शुक्रबार प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन्। अनुकूल समय पारेर प्रत्यारोपण गरिने उनको भनाइ थियो।
मिर्गौला प्रत्यारोपणका क्रममा अर्को मिर्गौला राख्न सक्ने ठाउँ ठीक हुनुपर्ने डा. काफ्ले बताउँछन्। ‘पेटको संक्रमणले प्रधानमन्त्रीको आन्द्रा वरिपरिको झिल्लीमा कस्तो प्रभाव पारेको छ,’ उनले भने, ‘त्यसले शल्यक्रियाको जटिलतासमेत निर्धारण गर्छ।’
पछिल्लो समय डाक्टरहरूले प्रधानमन्त्रीको छिटोछिटो डायलसिस गरिरहेका छन्। आइतबारसम्म ६ दिनमा ४ पटक डायलसिस गरेका थिए। प्रधानमन्त्री ग्रान्डी हस्पिटलमा रहेका बेला भने २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो।
जटिल शल्यक्रिया, संक्रमण, शरीरमा फोहोर बढी जम्मा हुनु आदि कारणले प्रधानमन्त्री ओलीका मिर्गौलामा परेको भार घटाउन डायलसिस गरिरहनुपरेको डाक्टरहरूको भनाइ छ। ‘अहिलेको जटिल शारीरिक समस्याले मिर्गौला कमजोर नपारेको भए फाट्टफुट्ट गरिएको डायलसिसले काम गर्थ्यो,’ डा. काफ्लेले भने।
पछिल्लो शल्यक्रिया गर्नुअघिकै अवस्थामा प्रधानमन्त्रीको मिर्गौला रहिरहेमा डायलसिसको संख्या घटाउन सकिने डाक्टरहरू बताउँछन्। अन्यथा निरन्तर डायलसिसमा जानुपर्ने स्थिति आउने उनीहरूको भनाइ छ।
पत्रकार सम्मेलनमा गत शुक्रबार डा. रमेशसिंह भण्डारीले प्रधानमन्त्री अस्पताल आउँदा धेरै बिरामी रहेको र शल्यक्रियापछि संक्रमणको असर पेट र रगतमा समेत परेको बताएका थिए। तर पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा बढी राम्रो सुधार देखिएको उनको भनाइ छ। कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ मंसिर २०७६, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ
निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन