काँग्रेसको आरोप : सरकारलाई कि आफैँलाई ?

कांग्रेसका २१ आरोपमध्ये अधिकांश सभापति शेरबहादुर देउवासँग जोडिएका छन्

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, ०९ : ३२
काँग्रेसको आरोप : सरकारलाई कि आफैँलाई ?

काठमाडौं । प्रमुख प्रतिपक्षको समेत राम्रो भूमिका निर्वाह गर्न नसकेको नेपाली काँग्रेसले नेपाली राजनीतिमा राम्रै चटक देखाएको छ । हरेक दिनजसो काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चार माध्यममा मुख देखाउनका लागि मात्रै भएपनि पत्रकार सम्मेलन गर्दै आएका छन् । 

चर्को बोल्ने, तथ्य भन्दा बाहिर बोल्ने, हचुवा र हावादारी भाषण गर्ने तथा कुनै पनि बेअर्थका कुरा गरेर क्षणिक रमाइलोका लागि काँग्रेस प्रवक्ताको पत्रकार सम्मेलनलाई लिने गरिएको छ । यसै सन्दर्भमा मंगलबार पनि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गरे ।

उनले सरकार विरुद्ध विषबमन गर्नका लागि मात्रै पत्रकार सम्मेलन गरेजस्तो लाग्ने गरी आफ्ना अभिव्यक्ति दिए । उनले सरकार गठन भएको २१ महिना पुगेको र कुनै पनि काम नभएको तर्क पेश गरे । उनले त्यसका लागि सरकार असफल भएको २१ वटा आधार पेश गरे । उनले पेश गरेका २१ आधारमध्ये अधिकाशं विषय उनकै सभापति शेरबहादुर देउवासँग जोडिएका विषय छन् । 
राजनीतिक विश्लेषकहरुका अनुसार काँग्रेस प्रवक्ताको पत्रकार सम्मेलन सरकारविरुद्ध पो हो कि आफ्नै पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको हो, त्यो भने बुझ्न सकिएको छैन । काँग्रेस प्रवक्ताले वाइडबडीको केशमा सरकार असफल भएको चर्चा गरे ।

जबकी वाइडबडीको निर्णय गर्दा प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवा नै थिए । उनले नै बाइडबडीको विषयमा निर्णय गरेका थिए । शेरबहादुर देउवा पत्नी आरजुको सो विषयमा बढ्ता चासो रहेको विषय दिनको घाम जत्तिकै छर्लङ्ग नै छ । 

आरजुको दबावमा नै नक्कली कम्पनी खडा गरेर नेपाल वायु सेवा निगमको जहाज खरिद गरिएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले नै गरेको निर्णय नै सरकारको असफलताको कारक भन्दै प्रवक्ताले नै पत्रकार सम्मेलन गरेपछि दोषी को होला भन्ने सहजै अनुमान गर्न सकिने देखिन्छ ।

प्रवक्ता शर्माले नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको भन्दै पत्रकार सम्मेलन सुरु गरेका थिए । उनले  सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलोचना गरेका थिए । ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताए । जबकी सबैभन्दा बढी राष्ट्रियता र सार्वभौमसत्ताको संकट काँग्रेसकै पालामा परेको कुरा उनले राम्रै गरी बिर्सिए वा भुलेको नाटक गरे ।  

यस्तै संविधानप्रति अपनत्वको दायरा विस्तार गर्न नसकेको, सत्ताको सैद्धान्तिक चरित्र निर्धारणमा असफल भएको, संविधानको बाँकी कार्यभार पूरा गर्न नसकेको, कुटनीतिक मामिलामा अपरिपक्व भएको, मूल्य वृद्धि नियन्त्रण गर्न नसकेकोलगायतको विषयलाई काँग्रेसले सरकारको असफलताको रुपमा विश्लेषण गरेको छ । 

तर विगतमा आफूहरुले गर्दा भएको राष्ट्रिय नोक्सानीको विषयमा समेत उनले कुनै कुरा गरेनन् । वाइडबडीमा देउवा जोडिएका छन् । बाराको निजगढ विमानस्थलको काम कारवाहीमा समेत उनै छन् । अन्य गलत काममा समेत काँग्रेस जोडिएको छ ।

रौतहटमा जिउँदै मान्छे मार्ने काममा काँग्रेस नेता अफताव आलम जोडिएका छन् । भ्रष्टाचार तथा अनियमितताको श्रृङ्खलामा जताततै काँग्रेसको हात छ भन्ने कुरा काँग्रेस प्रवक्ताले भुले कि भन्न चाहेनन्, त्यो विषय भने गम्भीर रहेको छ ।
 

 

 

प्रतिक्रिया दिनुहोस