काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताउनुभयो । हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उहाँले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गर्नुभयो । “लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो”, उहाँले भन्नुभयो, “यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।”
भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उहाँले प्रष्ट पार्नुभयो । नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकाङ्क्षाअनुसार काम हुननसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढङ्गबाट सरकारका कामकारवाही अगाडि बढाउन सुझाव दिनुभयो ।
नेपाल संवत् सिङ्गो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताउनुभयो । “नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्का रुपमा मानेको छ”, उहाँले भन्नुभयो, “यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ ।”
कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्ण साथ तथा सहयोग रहेको बताउनुभयो । नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो । सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल
श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ : झलनाथ खनाल
मनमोहनलाई सम्झिँदै झलनाथले भने- छोटो समय प्रधानमन्त्री हुनुभयो तर अझै नेपालीले बिर्सिएका छैनन्