काठमाडौँ । वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ ।
नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जबाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ । परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूबाट प्रदान गरिने सेवालाई थप सरल, सहज, प्रभावकारी, प्रविधि एवम् सेवाग्राही मैत्री बनाउने कार्यमा प्रभावकारी कदमहरू चालिएको र उपलब्धिहरू पनि हासिल भएका मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले पनि यस अवधिमा सरकारको १०० बुँदे कार्ययोजनाअन्तर्गका साथै अन्य विभिन्न उपलब्धि हासिल गरेको छ । मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलरलगायत सेवा प्रदान गर्न ‘मोफा मित्र’ नामक एप तयार गरी सञ्चालनमा ल्याएको छ । यसैगरी, कन्सुलर सेवा विभागको कन्सुलर तथा कानुनी परामर्श सेवाको ‘अनलाइन’ सेवा हालसम्म सबै जिल्ला तथा ५३७ स्थानीय तहसम्म विस्तार गरिएको छ ।
पोर्चुगलमा रहेका नेपालीमध्ये करिब दुई हजार जनाको सक्कल प्रहरी चारित्रिक प्रमाणपत्रमा ‘कन्सुलर’ प्रमाणीकरणको छाप कीर्ते पाइएकाले उनीहरूलाई त्यहाँको अस्थायी आवासीय अनुमतिपत्र दिन समस्या भएको थियो । त्यस सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईले आ-आफ्ना समकक्षीसँग सो बारेमा कुराकानी गरेपश्चात् उक्त समस्या समाधान भएको छ ।
दक्षिण पूर्वी एसियामा अनलाइन ‘स्क्यामिङ्ग’मा ठगीमा परेका ८१९ जनालाई यस अवधिमा परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरूको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको मन्त्रालयले जनाएको छ । यसैगरी, नेपालको निरन्तर कूटनीतिक पहलमा युएई सरकारले युएईमा थुनामा रहेका १२८ जना नेपाली नागरिकलाई गत वैशाख २ गते तथा साउदी अरब सरकारले थुनामा रहेका ३३ जना नेपाली नागरिकलाई यही असार १६ मा क्षमादान दिएको थियो ।
नेपाली चियाको भारत निर्यात सहजताका लागि भारतको विदेश मन्त्रालय र अन्य निकायसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले संवादमार्फत समाधान गरेको छ । त्यस्तै, पश्चिम एसियामा तनावको अवस्थामा उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा रहेका नेपाली नागरिकको सुरक्षालाई केन्द्रमा राखी विभिन्न काम गरिएको छ । मन्त्रालयमा २४ घण्टे आपत्कालीन प्रतिकार्य समूह गठन गरिएको छ । उक्त क्षेत्रमा समस्यामा परेका एक हजार ४७ जनालाई नेपाल फिर्ता ल्याइएको छ ।
राहदानीमा नयाँ प्रणालीको सुरुआत
राहदानीको नयाँ प्रणाली यही असार २९ बाट सुरु हुने र सोको तयारी मन्त्रालय र राहदानी विभागबाट करिब पूरा भएको छ । राहदानी सेवालाई थप सरल र सहज बनाउन नेपाली नियोग नभएका मुलुकमा राहदानी वितरण गर्न घुम्ती सेवा सञ्चालन गरिएको छ ।
राहदानी सेवा सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पुर्याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा यही असार १९ गते एक सम्झौता सम्पन्न र सोही दिनबाट उक्त सम्झौता लागू भएको छ । जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रले जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक
इरानमा नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झाको उद्धार प्रक्रिया जारी रहेको परराष्ट्रको प्रस्टोक्ति
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा