देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा

रासस

आइतबार, २० बैशाख २०८३, २१ : ३९
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित गस्ती तथा निगरानीका क्रममा प्रहरीले लागुऔषधसहित २७ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लाबाट समन्वित रूपमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौँ महानगरपालिका-१५ मा शनिबार गरिएको जाँचका क्रममा २० वर्षीय आशिष तामाङबाट चिकित्सकीय सिफारिसमा मात्र प्रयोग हुने ट्रामाडोलका ५७ ट्याब्लेट, नाइट्राभेटका १२९ ट्याब्लेट तथा नगद १६ हजार ६ सय ३५ रुपैयाँ बरामद गरिएको छ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी क्षेत्रमा गरिएको कारबाहीमा ट्रामाडोल २९० ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये गोकर्णेश्वर-६ नारायणटारका ३० वर्षीय अशोक लामा पनि रहेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल क्षेत्रमा गरिएको निगरानीमा भारत बिजनोरका ३० वर्षीय जमसेद आलमलाई स्पास्मो ४९ ट्याब्लेटसहित नियन्त्रणमा लिइएको छ। सोही जिल्लाको कैलारी गाउँपालिका-५ मनिकापुरबाट चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।

धनगढी उपमहानगरपालिका-२ मा गरिएको छुट्टै कारबाहीमा ३५ वर्षीय किसन बुडालसहित आठ जनालाई चरेस जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको छ। लम्कीचुहा नगरपालिका-१ बसपार्क क्षेत्रमा ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस